देवगणको मुकुण्डो तयार पार्दै ७५ वर्षीय चित्रकार [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — भक्तपुरको याछेँ ६ स्थित ७५ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् । हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गर्छन् र दसैंको नवमीमा सक्छन् । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ ।

यो मुकुण्डो लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच सुरु गर्छन् । नवमीको दिन वनमाला समुदायबाट छानिएका नवदुर्गा देवगणलाई कर्माचार्यहरूले मुकुण्डो हस्तान्तरण गरेपछि ‘खमे ब्वाकेउ’ जात्रा सुरु हुन्छ । नौ महिनासम्म भक्तपुरका २२ ठाउँमा वनमाला समुदायका देवगणले मुकुण्डो लगाएर नवदुर्गा नाच निकाल्छन् । यो नाच भक्तपुरमा सीमित रहँदैन, पशुपति, साँखु, नाला, नंखेल, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म पुग्छ ।

प्रत्येक वर्ष असारको भलभलअष्टमीमा मुकुण्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ । नवदुर्गा नाच बाहेक यो मुकुण्डो ङाला केगु जात्रा ‘माछा मार्ने जात्रा’, गाईजात्रा, देवीनाच, भैरव नाच, लाखे नाच लगायतमा समेत प्रयोग गरिन्छ । मुकुण्डो बनाउन झन्डै ३ लाख खर्च हुन्छ । त्यसमा नगरपालिका, गुठी संस्थान र धर्म गुठीले केही सहयोग गर्ने गरेका छन् ।


प्रकाशित : आश्विन १९, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्

आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग

तस्बिर : बिजु महर्जन

काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न माग गर्दै देशभर प्रदर्शन गरेको छ । मंगलबार अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्दर्भमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन र निर्माण, भण्डारण आदिलाई निषेध गर्ने आणविक हतियार निषेध सन्धिलाई अनुमोदन गर्न माग गरेको हो ।

नेपालले सन् २०१७ को २० सेप्टेम्बरमै आणविक हरियार निषेध सन्धिमा हस्ताक्षर गरेको थियो । तर अझैसम्म अनुमोदन भने गरेको छैन ।

काठमाडौंको माइतीघरमा भएको प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सरकारले अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरिसकेको भए पनि अनुमोदनमा ढिलाई गरेको भन्दै रोष व्यक्त गरे । सो क्रममा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताए । प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठूलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।


काठमाडौंमा भएको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायत सहभागी थिए ।


समाजले आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत जिल्लाहरुमा प्रदर्शन गरेको छ ।


सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णय अनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ १४:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×