१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देवगणको मुकुण्डो तयार पार्दै ७५ वर्षीय चित्रकार [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — भक्तपुरको याछेँ ६ स्थित ७५ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पारिरहेका छन् । जीवित देवताको रुपमा पुजिने भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवीदेवताका मुकुण्डो उनले बनाउँदै आएका छन् । हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गर्छन् र दसैंको नवमीमा सक्छन् । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ ।

यो मुकुण्डो लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच सुरु गर्छन् । नवमीको दिन वनमाला समुदायबाट छानिएका नवदुर्गा देवगणलाई कर्माचार्यहरूले मुकुण्डो हस्तान्तरण गरेपछि ‘खमे ब्वाकेउ’ जात्रा सुरु हुन्छ । नौ महिनासम्म भक्तपुरका २२ ठाउँमा वनमाला समुदायका देवगणले मुकुण्डो लगाएर नवदुर्गा नाच निकाल्छन् । यो नाच भक्तपुरमा सीमित रहँदैन, पशुपति, साँखु, नाला, नंखेल, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म पुग्छ ।

प्रत्येक वर्ष असारको भलभलअष्टमीमा मुकुण्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ । नवदुर्गा नाच बाहेक यो मुकुण्डो ङाला केगु जात्रा ‘माछा मार्ने जात्रा’, गाईजात्रा, देवीनाच, भैरव नाच, लाखे नाच लगायतमा समेत प्रयोग गरिन्छ । मुकुण्डो बनाउन झन्डै ३ लाख खर्च हुन्छ । त्यसमा नगरपालिका, गुठी संस्थान र धर्म गुठीले केही सहयोग गर्ने गरेका छन् ।


प्रकाशित : आश्विन १९, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्