आफूखुसी भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : कविन अधिकारी

काठमाडौँ — यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर असार २९ गतेबाट लामा तथा मध्यम दूरीमा चल्ने सवारीमा साविकको भाडामा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशअन्तर्गतका जिल्लामा भने बढाएको छैन । ती जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने छ । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भने स्थानीय रुटमा चल्ने सवारीमा भाडा बढाउनेबारे कुनै निर्णय नभएकाले साविकको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेका छन् ।

यता विभिन्न यातायातसम्बद्ध समितिहरुले भाडा बढेको भन्दै केही दिनदेखि यात्रुसँग जबरजस्ती बढी भाडा उठाइरहेका छन् । व्यवसायीले सरकारले असोज १५ गतेदेखि भाडा बढाएको भन्दै गाडीमा नयाँ भाडासूची टाँसेको छ । तर सरकारले अहिलेसम्म प्रदेशअन्तर्गतका जिल्लामा भाडा बढाउने कुनै निर्णय नभएको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार व्यवसायीले केही दिनयता यात्रुसँग आफूखुसी बढाएर भाडा लिने गरेको पाइएको छ । सोमबार बिहान मात्र बढी भाडा लिने ८२ वटा सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । आफूहरुले बढाएको भाडा लिन पाउनुपर्ने जिकिर व्यवसायीको छ ।

प्रकाशित : आश्विन १८, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्