१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ओलीको राजनीतिक प्रतिवेदन पेस हुँदा निदाए नेता–कार्यकर्ता

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएको विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । कतिपय नेता कार्यकर्ताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई चासो दिएर सुुनिरहेका छन् । तर कतिपय प्रतिनिधिलाई ओलीको प्रतिवेदनमा वास्ता छैन । कतिपय प्रतिनिधि भने हलमै निदाइरहेका छन् । रुघाखोकीका कारण समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका छन् ।

तस्बिर : इलिट जोशी

३ दिने विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेन्ट टाँगेर १ हजार जना अटाउने गरी हल तयार गरिएको छ । महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।


प्रकाशित : आश्विन १५, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्