२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

एमाले विधान महाधिवेशन सुरु

तस्बिर : इलिट जोशी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेकपा एमालेको विधान महाधिवेशन सुरू भएको छ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । सनराइज हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गरेका हुन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेण्ट टाँगेर १ हजार अटाउने गरी हल तयार गरिएको छ । महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम छ । यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनस् स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनस्संगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ/संगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्।


प्रकाशित : आश्विन १५, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्