इन्द्रजात्रा मनाइयो

तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंको वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गरेका थिए ।

जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए। जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएकी थिइन् । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आइतबार मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछिन् । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज ८ गते राति १० : ३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिंगोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिंगो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिंगोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिंगो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइन्छ । शब्द : रासस


प्रकाशित : आश्विन ३, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

संविधान संशोधनको मागसहित सप्तरीमा लोसपाको र्‍याली

अवधेशकुमार झा

राजविराज — संविधान विभेदकारी रहेको भन्दै संशोधन मागसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सप्तरीमा र्‍याली निकालेको । आइतबार बिहान राजविराजस्थित गजेन्द्र चौकबाट कालो झण्डासहित लोसपाका कार्यकर्ताहरुले मोटरसाइकल र्‍याली गरेका हुन् । 

र्‍यालीका क्रममा लोसपाका कार्यकर्ताहरुले संविधान संशोधन हुनुपर्ने, विभेदकारी बुँदाहरु हटाउनुपर्नेलगायतका माग गरेका थिए ।

लोसपा कार्यकर्ताहरुले आइतबार दिनभरी कालो दिवस मनाउने कार्यक्रम रहेको र सो क्रममा सार्वजनिक स्थल र सरकारी कार्यालयमा कालो झन्डा लगाउने कार्यक्रम रहेको लोसपा सप्तरीका अध्यक्ष सुनिलकुमार झाले बताए ।

लोसपाको र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, बोदेवरसाइन नगरपालिकाकी उपमेयर रन्जु साह, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डल, लोसपाका केन्द्रीय नेताहरु ज्यप्रकाश ठाकुर, दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, दीपेन्द्र चौधरी, विनोद यादव, जिल्ला समन्वय समिति सदस्य लक्ष्मी रजक लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।


प्रकाशित : आश्विन ३, २०७८ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×