कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कपसेटमा बचेरा

तस्बिर : मनोज पौडेल

स्वर्गचरी नामैले आकर्षक छ, हेर्दै मनमोहक छ । यो चरीलाई अहिले बचेरा स्यारसुसार गर्न भ्याईनभ्याई छ । लुम्बिनीको पर्सानजिक तेलार नदी छेउदेखि काठमाडौं उपत्यकासम्मै स्वर्गचरी आफ्ना बच्चा हुर्काइरहेको छ ।

स्वर्गचरी रूखको लहरा, पातलो हाँगा र कापमा चिया पिउने कपको सेप दिएर चिटिक्कको गुँड बनाउँछ । गुँड आकर्षक र सानो हुन्छ । सर्प, न्याउरी, बिरालोलगायत बन्यजन्तुबाट सुरक्षित हुन सतर्कतासाथ गुँड बनाउँछ । मसिनो घाँस, खरपात ल्याएर गुँड बनाउँदा स्वर्गचरीले सुन्दर शिल्प देखाउँछ । र, गुँडलाई घाँस, घुरपातले टिपिक्क बेरेर राख्छ । माकुराका जालो खोजी ल्याएर गुँड मजबुत बनाउँछ ।

स्वर्गचरी भुइँबाट ४/५ मिटर माथिदेखि १२/१५ मिटर उचाइसम्म ओथारो बस्छ । सबैले सजिलै देख्नेगरी गुँड बनाउँछ । उसको आधी शरीर गुँडमाथि नै देखिन्छ । अहिले पूर्वी नवलपरासीको कावासोती, नजिकका सामुदायिक वन, बाघमारा मध्यवर्ती क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज र कोसीटप्पु आरक्षमा बचेरा स्याहार गरिरहेका छन्– स्वर्गचरी । दिनैभरि बचेराका लागि आहारको खोजीमा हुन्छन् । उड्दै गरेका कीरा, फट्यांग्रा पुतली माउले च्याप्प समात्छन् र मुखमा राखेर ल्याउँछन् । अनि बचेरालाई ख्वाउन सिकाइरहेका हुन्छन् । उड्दा उड्दैका कीरा–फट्यांग्रा समात्ने हुँदा यिनलाई फ्लाईकेचर भनिएको हो । ग्रीष्मआगन्तुक यो चरी दक्षिण भारत र श्रीलंकातिरबाट नेपाल आउँछन् । मार्च अन्तिमतिर आएर सेप्टेम्बर अक्टुबरतिर बचेरा हुर्काएर उतै फर्किन्छन् ।

स्वर्गचरी २०/२२ दिन लगाएर कसिलो, टिपिक्क र सृजनात्मक गुँड बनाउँछ । ‘३ देखि ४ सातामा बच्चा कोरल्छ,’ चराविद् डा. हेमसागर बराल भन्छन्, ‘सुरक्षा र स्याहारसुसारअनुसार बचेरा हुर्कंदै जान्छन् ।’ अधिकांशले दुईदेखि तीनवटासम्म बचेरा हुर्काउँछन् । र ४ वटासम्म अण्डा कोरल्छन् । सामान्य अवस्थामा एक भालेले एक सिजनमा एउटी पोथीसँग बचेरा हुर्काउँछ । तर, खानपान र राम्रो वातावरण पाए दोस्रो पोथीसँग पनि भालेले बचेरा हुर्काउने गरेको पाइएको हेमसागर बताउँछन् । कतिपय ढिलो ओथारो बस्छन् ।

मेदेखि जुलाईसम्म बच्चा कोरल्छन् । स्वर्गचरीको भालेले दुई पटक रङ फेर्छ । ४ वर्षभन्दा कम उमेरमा टाउको कालो, ढाड, पँखेटा र पुच्छर कैलो रातो हुन्छ । घाँटी खरानी रङको हुन्छ । ४ वर्ष पुगेपछि टाउको कालो, जुरो र तल्लो भाग सेतो बढी, कालो थोरै हुन्छ । पोथीको सिउर र पुच्छर छोटो हुन्छ । भाले उड्दा उसको लामो पुच्छर हावाको बेगमा गजब रोमाञ्चक देखिन्छ । यो १९ देखि २२ सेन्टिमिटर लामो हुन्छ । पखेटा ८६ देखि ९२ मिलिमिटर लामो हुन्छ । अंग्रेजीमा एसियन प्याराडाइस फलाइकेचर भनिने स्वर्गचरीले उड्दाउड्दै चित्ताकर्षक ढंगले कीरा फट्यांग्रा सिकार गर्छन्, हत्तपत्त सिकार मिस गर्दैनन् । दिउँसो साना पोखरी र तलाउमा जलक्रीडा गरेर फ्रेस बन्छन् ।


प्रकाशित : भाद्र २६, २०७८ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्