तस्बिरहरूमा हेर्नुहोस् नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अन्तर्राष्ट्रिय महिला फुटबलमा बंगलादेशमाथि नेपालको प्रभुत्व बिहीबार पनि कायम रह्यो । नेपालले दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । यस खेलसँग नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा दशरथ रंगशालामा डेब्यु गरेको छ । सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले दशरथ रंगशालामा खेलेको यो पहिलो पल्ट हो ।

यसै खेलसँगै नेपाली महिला राष्ट्रिय टिमले पहिलो पल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा पनि खेलेको छ । नेपालका लागि यो ग्यारी फिलिप्सको पहिलो खेल हो । नेपालका लागि दुवै गोल गरेका खेलाडी सविता राना र प्रिति राईले पनि राष्ट्रिय टिमका लागि डेब्यु गरे । सविताले १३ औं मिनेटमा नेपालका लागि पहिलो गोल गरिन् । बंगलादेशी गोलरक्षक रुपन चक्मा अगाडि बढेको मौका छाडेर सविताले हेडबाट खोली पोस्टमा गोल गरिन् । प्रितिले २३ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेकी हुन् । बंगलादेशमाथि अन्तर्राष्ट्रिय फुटबलमा यो छैटौं जित हो र नेपाल उसको विरुद्ध अपराजित रहेको छ ।

पूरा खेल अवधिमा नेपाल हाबी रहे पनि बंगलादेशले पहिलो आक्रमण बुनेको थियो । त्यसपछि पहिलो हाफमा नेपालले दुई गोल गर्न सफल रह्यो । दोस्रो हाफमा भने बंगलादेशले सुधारिएको खेल प्रदर्शन गरेको थियो र नेपालमाथि दबाब सिर्जना गर्न सफल रह्यो । खेलको ७९ औं मिनेटमा बंगलादेशले पूरा खेल अवधिकै सबैभन्दा राम्रो आक्रमण बुनेको थियो ।श्रीमोति सरकारले पेनाल्टी एरियाभित्रबाट गरेको सटिक प्रहारमा नेपाली गोलरक्षक एन्जिला सुब्बाले उत्कृष्ट बचाउ गरिन् । बंगलादेशबाट सम्भव एक मात्र गोल ८३ औं मिनेटमा तोहुरा खातुनले गरिन् । सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरे लगतै उनले पेनाल्टी एरियाबाट आकर्षक गोल गरेकी हुन् ।

बंगलादेशी खेलाडीले नेपालविरुद्ध गोल गरेको यो दोस्रो पल्ट मात्र हो । यसअघि एसियाली ओलम्पिक छनोटमा नेपालले बंगलादेशविरुद्ध १–१ को बराबरी खेल्दा अखि आतुनले पहिलो गोल गरेकी थिइन् । पछिल्लो समय बंगलादेशले महिला फुटबलमा राम्रै लगानी गरेको छ र टिमको प्रदर्शनमा पनि सुधार आएको छ । बंगलादेशले उमेर समूहको फुटबलमा बढी लगानी गरको छ । नेपाल र बंगलादेशले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको यो पहिलो पल्ट हो । अब दोस्रो खेल आइतबार दशरथ रंगशालामै हुनेछ । नेपालले एसियाकप छनोटको तयारीका लागि यो खेल खेलेको हो । नेपालले त्यो छनोट उज्वेकिस्तानमा खेल्नेछ । नेपाल र उज्वेकिस्तानको समूहमा हङकङ र फिलिपिन्स पनि रहेका छन् । 


प्रकाशित : भाद्र २४, २०७८ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्