१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

त्रिचन्द्रमा विद्यार्थीको प्रदर्शन : 'डियर पीएम तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले ?'

तस्बिर : बिजु महर्जन

काठमाडौँ — जीर्ण अवस्थामा पुगेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीले आइतबार प्रदर्शन गरेका छन् । यथाशीघ्र पुनर्निर्माणको माग गर्दै नेविसंघको नेतृत्वमा क्याम्पस परिसरमा प्रदर्शन गरिएको हो । सहभागीले 'डियर पीएम तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले ?', 'धरहरा बन्यो त्रिचन्द्र कहिले ?', 'धरहरा प्राथमिकतामा पर्छ शैक्षिक क्षेत्र किन पर्दैन' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्रिचन्द्र क्याम्पसमात्रै नभई देशको सम्पदा र इतिहास भएकोले यसको संरक्षण गर्न भन्दै विद्यार्थीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र क्याम्पस भौतिक रूपमा जीर्ण अवस्थमा पुगेको विषयमा इकान्तिपुरले केही दिनअघि रिपोर्ट तयार पारेको थियो । पुरातात्विक महत्वको त्रिचन्द्र भवनमा यो बर्खामासमा तेस्रोदेखि भुइँतलाको भित्री बरन्डासम्म सिमसार झैं तप् तप् पानी चुहिरहेको छ । भुईंमा लेउ लागेको छ । भवन चौतर्फी बर्खे झार जंगलले घेरिएको छ । देशको पहिलो उच्च शिक्षालयले मौसमको बहारभन्दा बढी विलाप गरिरहेझैं महसुस हुन्छ ।

तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो । तर अहिले क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ ।


प्रकाशित : भाद्र २०, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्