कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गोकर्णेश्वरमा खुले विद्यालय [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन थाले पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाउन निर्देशन दिएको छ । तर नगर प्रमुख सन्तोष चालिसेले विद्यालय सञ्चालनलाई निरन्तरता दिने बताए । ‘हामीले अभिभावक र शिक्षकसँग सल्लाह गरेर विद्यालय खोल्ने निर्णय गरेका हौं । जिल्ला प्रशासन कार्यालयले भन्दैमा बन्द गर्न सकिँदैन । कि विकल्प दिनुपर्‍यो,’ उनले भने, ‘विद्यार्थीलाई सधैं थुनेर राख्न सकिँदैन ।’ गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यले संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय भएको जानकारी दिए ।

भौतिक दूरी कायम गर्ने/गराउनेलगायतका सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने नगरपालिकाको भनाइ छ । मापदण्ड पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाएका छन् । तर कतिपय स्थानीय तहमा विद्यालयले आफूखुसी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएका छन् ।


प्रकाशित : भाद्र १६, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्