१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गाईजात्रा : महामारीकै बीच धानिँदै परम्परा [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन चल्छ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ । मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । काठमाडौंमा सोमबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले वसन्तपुरलगायत मुख्य सहरी क्षेत्र परिक्रमा गरेका छन् ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ । तर यसपालि पनि कोरोना महामारीका कारण जात्रामा पहिलेजस्तो रौनक छैन । पातलो संख्यामा निस्किएका जात्राका सहभागीहरू मास्क र स्यानिटाइजर प्रयोग गरिरहेका छन् । तीनै जिल्लाका प्रशासनले गाईजात्रामा भिडभाड नगर्न सूचना जारी गरेका छन् ।


प्रकाशित : भाद्र ७, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्