१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मनाइयो घण्टाकर्ण पर्व [तस्बिरहरु]

तस्बिर : इलिट जोशी, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — कोरोना संक्रमण बढिरहेकै बेला भक्तपुरमा भने घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।

यो पर्व गठेमंगल नाम गरेको राक्षस मारिएको खुसियालीमा बिहानै हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । अन्त्यमा घण्टाकर्णको प्रतिमालाई आगोले जलाइन्छ या खोलामा लगेर बगाइन्छ ।मानिसहरु बिहान स्नान पूजापाठ गरी घर, आँगन सफा गर्छन्, केटाकेटीहरू बाटोमा डोरी टाँगेर पैसा माग्छन् । यस दिनमा नराम्रा तत्त्व र दुर्भाग्यबाट गठेमंगलको औंठीले सुरक्षा दिने जनविश्वासका कारण धातुको औंठी लगाउने चलन पनि रहेको छ ।

यसदिन बालबालिकाहरुले घण्टकर्णको प्रतिमा बनाइ बटुवाहरुसँग दान लिन्छन्, दिन नमानेका बटुवाहरुलाई घण्टाकर्णको नाति भनेर जिस्काउँछन् । भूतप्रेत भगाउने यो गठेमंगल पर्व सकिएसँगै उपत्यकामा लाखे नाच र जात्राहरू हुन्छन् ।

जनस्वास्थ्यविद्हरु अस्पतालमा कोरोनाका बिरामीले बेडहरु भरिन थालेपछि कोरोना महामारीको तेस्रो लहर आइसकेको निष्कर्षमा पुगेका छन् । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी फैलिन सक्ने भन्दै भीडभाड नगर्न, सभा सम्मेलन गोष्ठी आदि कार्यहरुमा पनि रोक लगाएको छ । अघिल्लो वर्ष भक्तपुर नगरपालिकाले गठेमंगल र गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गरेर गर्न आग्रह गरेको थियो ।


प्रकाशित : श्रावण २२, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्