कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [तस्बिरहरू]

राजकुमार कार्की

सिन्धुली — राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् ।

ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएर थियो ।

संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ भने ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु सबैजसो राखिएको छ । ६ कोठे यो संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालले बताए । ‘यो संग्रहालय र सिन्धुलीगढी परिसर अब खोजकर्ता र जिज्ञासुहरुलाइ राम्रो अध्ययनको थलो बन्नेछ,’ उनले भने, ‘नेपालीका लागि मात्र हैन, अंग्रेजहरुलाई समेत पितापुर्खाको लडाइँका विषयमा थप कौतुहलता जगाइ डोर्‍याएर ल्याउने छ ।’

निर्माणकर्ता वर्दबहादुर गणका गणपति विजय थापाले सात करोड रुपैयाँ लागतमा सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण भएको जानकारी दिए । आन्तरिक सजावट, योद्धाहरुको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको छ ।

संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशनगर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ । नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताइएको छ ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएका थिए । गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेख छ ।

तस्बिरहरू : रासस

प्रकाशित : श्रावण १३, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

चार वर्ष बित्यो, सडक बनेन

दुई पटकसम्म म्याद थपे पनि निर्माण कम्पनीले काम नै सुरु गरेको छैन
नवीन पौडेल

परासी — ठेक्का लागेको चार वर्षसम्म पनि काम सुरु नहुँदा पश्चिम नवलपरासीको सदरमुकामस्थित बुद्धचोकबाट पूर्व र पश्चिमतर्फको सडकमा धूलो र हिलोले हिँडडुलमा समस्या भएको छ । सडकको दूरवस्थाबाट स्थानीय आजित छन् । चार वर्षअघि संघ सरकारको बजेटमा सडकको ठेक्का लागेको हो । 

समयमै निर्माण हुन नसकेको पश्चिम नवलपरासीको झरहीखोला–मञ्जरिया सडक खण्ड । तस्बिर : नवीन/कान्तिपुर

२०७३/७४ को आर्थिक वर्षमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले सडक निर्माणको ठेक्का लगाएको थियो । गौरी पार्वती निर्माण सेवा सामाखुसी काठमाडौंले निर्माणको ठेक्का पाएको थियो । तर, कम्पनीले अहिलेसम्म सडक बनाउन सुरु गरेको छैन । दुईपटकसम्म म्याद थप गर्दासमेत सडक नबनेपछि स्थानीय आक्रोशित छन् । सडक निर्माणका लागि स्थानीयले पटक–पटक नगरपालिकामा धर्ना दिने र स्थानीय जनप्रतिनिधिलाई दबाब दिने गरेका छन् ।

सोमबार स्थानीयले नगरपालिकामा धर्ना दिएर तत्काल सडक निर्माणका लागि केन्द्रमा दबाब दिन जनप्रतिनिधिलाई आग्रह गरे । तर, केन्द्र सरकारको आयोजनामा ठेक्का आह्वान भइसकेकाले नगरपालिकाले बजेट छुट्याउन नसक्ने जनाउँदै आएको छ । सामान्य खाडल पुर्नेबाहेक संघ र स्थानीय तहले एकैपटक बजेट विनियोजन गर्न नसक्ने भएकाले सडक अहिलेसम्म अलपत्र छ । सडक नबन्दा सदरमुकामकै सौन्दर्यमा नै असर पुगेको र आफूले पटक–पटक ताकेता गर्दासमेत ठेकेदार पक्षले सुनुवाइ नगरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘संघले निर्माणको जिम्मा लिएकाले नीतिगत रूपमा हामीले यसमा केही गर्न सक्दैनौं । निर्माणका लागि दबाब भने दिँदै आएका छौं । स्थानीयले हामीलाई दबाब दिएका छन्,’ उनले भने, ‘संघले यो कामबाट हात झिक्यो भने हामी तत्कालै बजेट विनियोजन गरेर काम गर्छौं ।’

भैरहवा–भूमही सडक खण्डको बाइपास रोडदेखि सदरमुकाम जोड्ने प्रमुख सडकको दूरवस्था हुँदासमेत पटक–पटक म्याद थप गरेर संघ सरकारले ठेकेदारको पक्षमा काम गरेको स्थानीयको आरोप छ । ठूला सवारीसाधनको चाप र धूलोले सडक धुलाम्मे भएका कारण पसलमा ग्राहक नआउने व्यवसायीको गुनासो छ । ठेकेदारले काम नगरेपछि असार १५ गते ठेक्का रद्दका लागि सूचना निकालेको सघन सहरी विकास आयोजना कार्यालय चितवनका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए । लामो समय बितिसक्दा पनि काम नगर्ने निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेर कारबाही गर्नुपर्ने स्थानीय र जनप्रतिनिधिले माग गरेका छन् ।

खाल्डोमा परेर एकको मृत्यु

दाङ– घोराही–तुलसीपुर सडकलाई फोरलेन बनाउने क्रममा खनिएको खाल्डोमा परेर मंगलबार एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७, पर्सेनीमा रा६प ७२५ नम्बरको मोटरसाइकल खाल्डोमा खस्दा तुलसीपुर–१०, राइखलियानका ३५ वर्षीय चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ह्युमपाइप राख्न खनिएको खाल्डो एक वर्षदेखि अलपत्र छ । सडकमा यस्ता धेरै खाल्डा छन् । सडक किनार भत्काएको र बीचबीचमा ह्युमपाइप हाल्ने खाल्डा खनिँदा यातायातका साधन सञ्चालनमा निकै कठिन भइरहेको छ । सडकका खाल्डा पुर्न कसैको ध्यान पुगेको छैन ।

प्रकाशित : श्रावण १३, २०७८ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×