चल्न थाले लामो दूरीका सवारी [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सरकारले मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेपछि लामो दूरीका सवारी साधन छिटफुट रुपमा चल्न थालेका छन् । सरकारको निर्णयसँगै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने भएको हो । शनिबार काठमाडौंका बसपार्कमा उपत्यकाबाट बाहिरिने यात्रुहरु कमै भेटिए । उपत्यकाबाट जानेभन्दा आउने यात्रुहरु धेरै भएकाले यहाँका बसपार्क सुनसान देखिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायीलाई अनुरोध गरेको थियो । काठमाडौं प्रशासनले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ । प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । सरकारले सवारीसाधन र यात्रुहरुलाई स्वास्थय सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गर्न पनि भनेको छ ।


प्रकाशित : श्रावण ९, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

४१ दिनपछि सरकारलाई पूर्णता

६ मन्त्रीले लिए शपथ, जसपा असन्तुष्ट, समावेशी भएन मन्त्रिपरिषद्, कांग्रेसभित्रै असन्तुष्टि 
प्रतीक्षा काफ्ले

पोखरा — सरकार गठन भएको ४१ दिनपछि गण्डकी सरकारले शुक्रबार पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार नवनियुक्त ६ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाइन् ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरू पद तथा गोपनीयताको शपथ लिँदै। मुख्यमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त गरेकी प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त ६ मन्त्रीलाई शपथ खुवाएकी हुन्। तस्बिर : प्रतीक्षा/कान्तिपुर

कांग्रेसबाट मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास, मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति र बिन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र दीपक थापा वन, वातावरण तथा भूसंरक्षणमन्त्री बने ।

यसअघि सामाजिक विकासमन्त्री कांग्रेसका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको थियो । मुख्यमन्त्रीसँगै शपथ लिएका माओवादीकी मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या, जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

कांग्रेस, माओवादी, जसपा र राजमोको समर्थनमा जेठ २९ मा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्‍न हुँदा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । दुईवटा मन्त्रालय पाउने गरी मुख्यमन्त्रीसँग लिखित सहमति गरेको जसपाले एउटा मात्रै मन्त्रालय पाएको छ । गण्डकीमा जसपाका दुई सांसद छन् । ऊर्जामन्त्री आचार्य असन्तुष्टि जनाउँदै शपथ कार्यक्रममा सहभागी भएनन् । उनीसँगै जसपाकै धनमाया लामा पोखरेललाई पनि मन्त्री बनाउने सहमति भए पनि जसपा केन्द्रले नै एउटा मात्र मन्त्रालय लिने सहमति जनाएको सरकारका प्रवक्ता कुमार खड्काले बताए । उनले भने, ‘हामीले दुईवटै मन्त्रालय दिने भनेका थियौं, माथिबाट अर्कै निर्णय आयो । बोलेको कुरा बेइमान हुन्छ भनेर मुख्यमन्त्री र म स्वयं काठमाडौं गयौं तर केही गर्न सकेनौं ।’

मन्त्रालय भागबन्डामा विवाद भएपछि जसपा, कांग्रेस र माओवादीले केन्द्रबाटै बिहीबार साँझ मन्त्रालयको टुंगो लगाएका थिए । ‘लिखित सहमति कार्यान्वयन नगरेपछि बेइमानीको साक्षी बस्न गइएन,’ आचार्यले भने, ‘सरकारमै भए पनि गलत कामको विरोध गर्नेछु ।’ उनले कांग्रेसमा पनि ‘केपी ओली प्रवृत्ति’ हावी भएको आरोप लगाए । संघीयताको मर्म बुझ्दै सरकारमा जाने र नजाने निर्णय गर्न पार्टीले आफूहरूलाई नै अधिकार दिएको उल्लेख गर्दै आचार्यले कांग्रेसले बाबुराम भट्टराई र उपेन्द्र यादवले नै एउटा मन्त्रालयमा सहमति जुटाए भन्नु भ्रमको खेती भएको बताए ।

विश्वासको मत लिने दिन असार ४ मा मुख्यमन्त्रीले अर्थसहित दुई मन्त्रालय दिने गरी जसपासँग लिखित सहमति गरेका थिए । अर्थमा कांग्रेस र जसपाको दाबी भएपछि जसपाले ऊर्जा र कृषि पाउने गरी चित्त बुझाएको थियो । उनी शुक्रबार दिनभरि मन्त्रालयमै बसेका थिए ।

कांग्रेसभित्रै असन्तुष्टि

मन्त्रिपरिषद्ले पूर्णता पाए पनि मन्त्री चयनलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । शुक्रबार बिहानसम्म तनहुँका दोबाटे विश्वकर्मा मन्त्री बन्ने निश्चित भएको बताइए पनि अन्तिममा उनको नाम हटाएर कांग्रेसकै बिन्दुकुमार थापालाई मन्त्री बनाइएको छ । विश्वकर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्, थापा सभापति देउवानिकट हुन् । मुख्यमन्त्री र मन्त्री कुमार खड्काले विश्वकर्मालाई मन्त्री बनाउन चाहे पनि सफल भएनन् ।

विश्वकर्माले निष्ठाको राजनीतिमा अपराध भएको बताए । ४२ वर्षदेखि पार्टीमा सक्रिय राजनीति गर्दै आएका उनले पार्टीभित्रैबाट अपराध भएको आरोप लगाए । ११ मन्त्रीमा एकमात्रै महिला छन् । विश्वकर्माले पार्टीभित्र पनि समावेशिताको सिद्धान्त रहेको उल्लेख गर्दै सिद्धान्तकै अपमान भएको बताए ।

प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पनि शपथ कार्यक्रममा सहभागी भएनन् । नयाँ मन्त्रिपरिषद्मा एउटै जिल्लाले २/३ जना मन्त्री पाएको छ । यसअघि गुरुङको पालामा पनि गोरखा र तनहुँबाट दुई/दुईवटा मन्त्री थिए । यसपटक पनि स्याङ्जाले २, कास्कीले ३ र बागलुङले २ मन्त्री पाएका छन् । यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा तत्कालीन सरकारले आफूमाथि अविश्वास प्रस्ताव दर्ता गरेपछि ११ मन्त्रालय पुर्‍याएको थियो ।

प्रकाशित : श्रावण ९, २०७८ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×