कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेको भीड [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकु अस्पतालमा विदेश जाने युवाहरुको ठेलमठेल भीड लागेको छ । सुर्खेतका प्रेमप्रसाद कँडेलका अनुसार उनी बिहीबार बिहान २ बजेदेखि लाइन उभिएका हुन् । जोन्सन एन्ड जोन्सनको खोप लगाएका उनी साउदी जानको लागि खोप लगाएको प्रमाणिकरणका लागि टेकु आएको बताए । अस्पताल प्रशासनले बुधबारदेखि १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सनको खोप लगाउने भनेपछि खोप लगाउन आउनेको संख्या पनि धेरै र अव्यवस्थित हुनाले अहिले टेकु अस्पताल अस्तव्यस्त छ ।

प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जानसेन खोप उपलब्ध गराएको थियो । खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ। खाडीका देशहरूले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताएका छन् । कतार र साउदी अरबले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएका कामदारलाई मात्रै क्वारेन्टाइन बस्नु नपर्ने गरी आन्तरिक प्रमाणपत्र एयरलाइन्स कम्पनीहरूलाई जारी गरेको छ। कतारमा क्वारेन्टाइनमा बस्नका लागि २८ सयदेखि ३२ सय रियाल (झन्डै एक लाख रुपैयाँ) खर्च लाग्छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले हाल जारी गरिएको कार्डमा क्यूआर कोड प्रणाली नभएको बताएका छन् ।


प्रकाशित : श्रावण ७, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्