कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पत्थरमा रैथाने कन्दमुलको परीक्षण [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — ठाउँको नामै पत्थर । यही पत्थरमा अहिले कन्दमुलका प्रजातिमाथि अनुसन्धान सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा विभिन्न रैथाने जातका कन्दमुलको अनुसन्धान थालिएको हो । २५ रोपनी चट्टानी भिरालो जग्गा भाडामा लिएर गिठा, भ्याकुर, तरुल, ओल, सखरखण्ड, भार्लाङ, चुइया, त्यागुना, गुर्जो र पिडांलुजस्ता कन्दमुल रोपिएको हो ।

पिँडालु ७ प्रकारका छन् । रानी र तिते गरी गिठा २, रानी र जगल्टे गरी भ्याकुर २ प्रकारका छन् ।

माटोले भरिएका बोरामा विभिन्न कन्दमुल रोपेर पत्थरमाथि राखिएको छ । अलिअलि माटो भएको ठाउँमा बाँसको भाटाले अड्याएर बारी बनाएर कन्दमुल नै रोपिएको छ । कृषि पढेका युवादेखि कृषिकै क्षेत्रमा लागिरहेका विभिन्न व्यक्तिको सामूहिक प्रयासमा अनुसन्धान सुरु भएको हो ।

मौसम, भूगोल, माटो अनुसार रैथाने खेती हुँदै आएको तर पछिल्लो समय लोप हुन लागेकाले विस्तारका लागि अनुसन्धान थालिएको अनुसन्धानकर्ता कुशल पौडेल बताउँछन् ।

पर्यावरणीय हिसावले पनि वातावरणमैत्री हुने यस्ता रैथाने बालीको संरक्षण गर्ने उद्देश्य रहेको उनले बताए । पहाडी भेगमा हुँदै आएका कन्दमुलको खेती माटो कम हुँदैमा नहुने भन्दै उनीहरुले यो पत्थर रोजेका हुन् । कास्की जिविसका पूर्व सभापति पुण्य पौडेल यो अभियानमा राज्यका निकायले सक्दो सहयोग गर्नुपर्ने बताउँछन् ।


प्रकाशित : श्रावण ६, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्