कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप आजदेखि [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार लगाउन सुरु गरिएको छ । एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने सरकारले घोषणा गरेको छ ।

त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ । यो खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अत्तरखेलस्थित अर्थोपेडिक अस्पताल पुगेर जोन्सन खोप लगाउने कार्यक्रमको शुभारम्भ गरेका छन् । उनका साथमा अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी  थिए । सुरुमा उक्त अस्पतालमा रहेका तोकिएको वर्गका अपांगता भएकाहरूलाई खोप लगाइएको थियो ।

अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।

यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ ।

जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

नेपालमा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ ।


प्रकाशित : श्रावण ४, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

हात मिलाएरै ओलीले दिए देउवालाई बधाई [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा सहभागी नभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌मै देउवालाई बधाई दिएका छन् । ओलीले प्रधानमन्त्री देउवासँग हातसमेत मिलाए ।

आइतबारदेखि सुरु पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अनुपस्थित ओली दोस्रो बैठकमा संसद् गएका हुन् । उनले संसद्‌मा विपक्षी दलको नेता एवं तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने अपेक्षा थियो । तर, उनले आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न अघि सारे ।

विगतमा प्रधानमन्त्री फेरिँदा शपथ ग्रहणमा सहभागी हुने गरेको परम्परा र अभ्यास तोडेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संसद्‌ बैठकमै ओलीको आलोचना गरे । 'शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर अहिले त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुन आवश्यक ठान्नु भएन । हेर्दा त, कोभित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने आँट कोसँग छ, छैन भन्नेसँग सम्बन्धित छ । गम्भीर नैतिकता संस्कार र लोकतनन्त्रसँग जोडिएको प्रश्न हो,' दाहालले भनेका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकको मध्यतिर ओलीले देउवालाई बधाई दिएका हुन् । देउवाको आइतबार संसद्‌मा विश्वासको मत लिँदै छन् । उनलाई माओवादी केन्द्र, जसपा, एमाले माधव समूह, राजमोका सांसद्हरुले मत दिने भएका छन् ।


प्रकाशित : श्रावण ३, २०७८ २१:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×