कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हात मिलाएरै ओलीले दिए देउवालाई बधाई [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा सहभागी नभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌मै देउवालाई बधाई दिएका छन् । ओलीले प्रधानमन्त्री देउवासँग हातसमेत मिलाए ।

आइतबारदेखि सुरु पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अनुपस्थित ओली दोस्रो बैठकमा संसद् गएका हुन् । उनले संसद्‌मा विपक्षी दलको नेता एवं तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने अपेक्षा थियो । तर, उनले आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न अघि सारे ।

विगतमा प्रधानमन्त्री फेरिँदा शपथ ग्रहणमा सहभागी हुने गरेको परम्परा र अभ्यास तोडेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संसद्‌ बैठकमै ओलीको आलोचना गरे । 'शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर अहिले त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुन आवश्यक ठान्नु भएन । हेर्दा त, कोभित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने आँट कोसँग छ, छैन भन्नेसँग सम्बन्धित छ । गम्भीर नैतिकता संस्कार र लोकतनन्त्रसँग जोडिएको प्रश्न हो,' दाहालले भनेका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकको मध्यतिर ओलीले देउवालाई बधाई दिएका हुन् । देउवाको आइतबार संसद्‌मा विश्वासको मत लिँदै छन् । उनलाई माओवादी केन्द्र, जसपा, एमाले माधव समूह, राजमोका सांसद्हरुले मत दिने भएका छन् ।


प्रकाशित : श्रावण ३, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्