कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात मिलाएरै ओलीले दिए देउवालाई बधाई [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा सहभागी नभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्‌मै देउवालाई बधाई दिएका छन् । ओलीले प्रधानमन्त्री देउवासँग हातसमेत मिलाए ।

आइतबारदेखि सुरु पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अनुपस्थित ओली दोस्रो बैठकमा संसद् गएका हुन् । उनले संसद्‌मा विपक्षी दलको नेता एवं तत्कालीन प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्ने अपेक्षा थियो । तर, उनले आफ्नो दलको तर्फबाट प्रवक्ता प्रदीप ज्ञवालीलाई बोल्न अघि सारे ।

विगतमा प्रधानमन्त्री फेरिँदा शपथ ग्रहणमा सहभागी हुने गरेको परम्परा र अभ्यास तोडेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संसद्‌ बैठकमै ओलीको आलोचना गरे । 'शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर अहिले त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुन आवश्यक ठान्नु भएन । हेर्दा त, कोभित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने आँट कोसँग छ, छैन भन्नेसँग सम्बन्धित छ । गम्भीर नैतिकता संस्कार र लोकतनन्त्रसँग जोडिएको प्रश्न हो,' दाहालले भनेका थिए । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकको मध्यतिर ओलीले देउवालाई बधाई दिएका हुन् । देउवाको आइतबार संसद्‌मा विश्वासको मत लिँदै छन् । उनलाई माओवादी केन्द्र, जसपा, एमाले माधव समूह, राजमोका सांसद्हरुले मत दिने भएका छन् ।


प्रकाशित : श्रावण ३, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चले संविधानलाई बचायो : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भूमिका स्पष्ट पारिदिएकोले आफ्नो भूमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले प्रतिनिधिसभा सदस्यलेसमेत आफ्नो भूमिकाबारे स्पष्ट नभएको भन्दै सर्वोच्चले सबैको भूमिकालाई स्पष्ट पारिदिएको बताएका हुन् । सर्वोच्च अदालतले सुन्दर ढंगले संवैधानिक व्याख्या गरेर संविधानलाई बचाएको पनि उनले बताए । उनले भने, ‘प्रतिनिधिसभा र यसका सदस्यहरुले सायद हाम्रो शक्ति चिनेको छैनौं । अहिलेको सर्वोच्च अदालतको फैसलामा राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय हुँदै प्रतिनिधिसभा, सभामुखसमेतको अधिकार क्षेत्रको, कर्तव्यको त्यहाँ मूल्यांकन गरिएको छ । दिशानिर्देश गरिएको छ । व्याख्या गरिएको छ । हामीले आफैले लेखेको संविधान आफैं बिर्सिएको थियौं । यो प्रतिनिधिसभा सबैभन्दा उच्चतम थलो हो ।’

प्रतिनिधिसभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरिएको भन्दै उनले दुर्घटनाबाट बचेको पनि उल्लेख गरे । यो संविधान अपूर्ण भएपनि अग्रगामी भएको भन्दै उनले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यो संविधान विगतका सबै संविधानभन्दा अग्रगामी संविधान छ । अपूर्ण छ अपुरो छ तर अग्रगामी छ । त्यसैले यसलाई अवमूल्यन नगरौं ।’

प्रतिनिधि सभा पुन:स्थापनाबाट पाठ सिक्दै गल्ती दोहोर्‍याउनु नहुने भट्टराईको भनाइ छ । प्रतिनिधिसभालाई जनताको सार्वभौमसत्ता अभ्यास गर्ने थलो बनाउनुपर्नेमा उनको जोड छ । देउवा नेतृत्वको सरकारलाई स्थायी सरकार बनाउन र लोकतन्त्र र संविधानलाई जोगाउन उनले आह्वान गरेका छन् ।

प्रकाशित : श्रावण ३, २०७८ २१:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×