खुल्यो आन्तरिक उडान [तस्बिरहरु]

विमानस्थलमा चाप
तस्बिर : अनिस रेग्मी

काठमाडौँ — कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनमा बिहीबारदेखि सञ्चालनमा आएको छ । योसँगै त्रिभुवन विमानस्थलमा यात्रुहरुको चहलपहल बढेको छ । असार ७ को मन्त्रिपरिषद्‌को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्वीकृत गरेको थियो । प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्वीकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भइ बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।

प्राधिकरणको उडान अनुमति काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । स्वीकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्‍ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् । त्यसैगरी, काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । सुर्खेत, नेपालगन्‍ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति बिहीबार टुंगो लाग्ने बताइएको छ । यात्रुको माग अनुसार अहिले स्वीकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ ।


प्रकाशित : असार १७, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्