बाँदरको काखमा बिरालोका बच्चा ! [तस्बिरहरु]

शब्द : अब्दुल्लाह मियाँ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — बाँदरमा विद्यावारिधी गरेका मुकेशकुमार चालिसेले पनि काठमाडौंभित्र यसरी बाँदरले बिरालोको बच्चा स्याहारेको अहिलेसम्म देखेका थिएनन् । 'यो काठमाडौंका लागि नौलो हो', चालिसेले कान्तिपुरसित भने, 'पशुपति र स्वयम्भुमा बाँदरले कुकुरको बच्चालाई लिएर स्याहारेको चाहिँ देखेको थिएँ ।'

चालिसेका अनुसार बिरालोको बच्चालाई स्याहारिरहेको यो बाँदर निकै अनुभवी (बूढो) जस्तो देखिन्छ । 'यो बिरालोले सायद आफन्त गुमाएको हुनसक्छ वा टुहुरो भएको हुन सक्छ', उनले भने, 'बाँदरले उसलाई स्नेह दिएर माया, प्रेम र समवेदनाको तृष्णा मेट्न खोजेको देखिन्छ ।'

बाँदरले जुम्रा हेरिदिएर बच्चालाई सान्त्वना दिइरहेकोजस्तो देखिन्छ ।' 'आमा गुमाएको वा एक्लिएको अनुभव गरेको बिरालोलाई बाँदरले भावनात्मक बात्सल्यता दिइरहेको देखिन्छ', चालिसेले भने । उनका अनुसार मानिसबाहेक सबैजसो मेरुदण्डीय प्राणीहरुले अहिले पनि प्राकृतिक अनुशासन कायम गरिरहेका छन् । चालिसे मानिसले चाँहि प्राकृतिक अनुशासन तोडेको तर्क गर्छन् ।

'बाँदर सर्वहारी हो, बिरालो मांसाहारी भए पनि दूध–भात खान्छ, त्यस हिसाबले पनि धेरै कुराहरु मिल्छन्', उनले भने, 'मेरुदण्डीय प्राणीहरुमा माया, प्रेम, समवेदना, सामूहिक भावना, सत्रु र मित्रुबारे ज्ञान, एक अर्कालाई अप्ठ्यारो पर्दा अभिव्यक्त गर्ने भावनाहरु हुन्छन् ।' बाँदर र बिरालो दुबै स्तनधारी प्राणी हुन् । 'त्यसैले बच्चा हुर्काउन पाल्न अथवा रेखदेख गर्न तथा अप्ठ्यारोमा परेकालाई मद्दत गर्ने गुण प्राणीहरुमा रहन्छ', उनले प्रष्ट्याए, 'यो तस्बिरले त्यही बोलेको छ ।'


प्रकाशित : असार ४, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्