कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहाडमा रोपाइँको रौनक (तस्बिरहरू)

राजकुमार कार्की

सिन्धुली — वर्षाले साथ दिएपछि सिन्धुलीको महाभारत क्षेत्रका किसानलाई यतिखेर रोपाइँको चटारो छ । अघिल्ला वर्ष धानको बीउ पहेंलिन लाग्दा समेत पानी नपर्दा किसानहरू आकाशतिर हेर्दै पुर्पुरोमा हात लगाउन बाध्य थिए । तर अहिले बीउ तयार हुनासाथ मौसमले साथ दिएको छ । खोला–खहरे भरिएका छन् । त्यसैले महाभारत उत्तरतर्फका पहाडी खेतमा यसपालि अझ रौनक छाएको छ ।

कमलामाई नगरपालिका–३ जलकन्याका किसान रत्नबहादुर कार्कीले पन्चैबाजासहित रोपाइँ गरेका छन् । दोहोरी गीतको भाकामा हली, रोपाहार, बाउसे, ब्याडेलगायतले खेत गुञ्जायमान् बनाएका छन् ।

रोपाइँलाई परम्परागत बेठीको झल्को दिँदै कलाघर सिन्धुलीका कलाकार पनि हिलो खेल्न व्यस्त रहे । यस्तो रमाइलो गर्दै परम्परा जोगाएर रोपाइँ गर्न पाएकोमा किसान कार्की दंग थिए । ‘किसानलाई कृषि पेसाप्रति उत्साहित बनाउन र गाउँघरमा लोप भएको पर्मको महत्त्व दर्साउन मज्जासँग दोहोरी घन्काइयो,’ उनले भने ।

गाउँघरबाट लोप भएको बेठीलाई नै बिर्साउने गरी कलाघरका कलाकारले रोपाइँलाई अझ तताएको उनले सुनाए ।


प्रकाशित : असार ४, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्