कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसान लुम्बिनीमा जलविहारमा मग्न बुद्ध–संरचना [फोटो फिचर]

तस्बिर : मनोज पौडेल

लुम्बिनी — कोरोना संक्रमणका कारण देशभर निषेधाज्ञा लागू भएकाले व्यावसायिक र पर्यटकीय गतिविधि ठप्प छ । अरू बेला पर्यटकको भीड लाग्ने गरेको बुद्ध जन्मस्थल लुम्बिनीमा पनि यति बेला सुनसान र शान्त छ ।

चारैतिरको हरियाली र चित्ताकर्षक वातावरणले लुम्बिनी मनमोहक बनेको छ । लुम्बिनीमा रहेका सांस्कृतिक सम्पदा पानीमा रिफ्लेक्टेड हुँदा झन् सुन्दर देखिएका छन् ।

केन्द्रीय नहरको हरियाली, रुखविरुवा र सिम्बोलिक पेभेलियनको छायाले पनि रोमाञ्चकता थपेको छ ।


प्रकाशित : जेष्ठ १९, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

सतिसाल संरक्षणमा स्थानीय : ‘एक घर एक सतिसाल’ अभियान 

डिल्लीराम खतिवडा

उदयपुर — लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पती सतिसाल संरक्षणमा स्थानीयले सक्रियता देखाएका छन् । उदयपुरगढी गाउँपालिका–७ कोल्टेस्थित राजाजी सामुदायिक वनले सतिसाल संरक्षण अभियान सुरु गरेको हो ।

उदयपरगढी गाउँपालिका-७ कोल्टेस्थित राजाजी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको लोपोन्मुख सतिसाल ।

इस्पातजस्तो सतिसाल बलियो मानिन्छ । तर अहिले त्यही सतिसाल लोप हुने अवस्थामा पुगेको छ । त्यसैले साइटिस महासन्धिको अनुसूची २ मा लोप हुने स्थितिमा पुगिनसकेको तर तिनको व्यापारलाई समयमा नियमन र नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुन सक्ने अवस्थामा सतिसाललाई सूचीकृत गरिएको छ ।

सतिसालको काठ मूल्यवान मानिन्छ । त्यसैले सतिसालको काठ सजिलै र महँगोमा बिक्री हुने गरेको छ । उदयपुर जिल्लाको चुरे तथा भावर क्षेत्रमा केही वर्षअघिसम्म घना जंगलका रूपमा रहेको सतिसाल चोरी निकासीका कारण करिब लोप हुने अवस्थामा पुगेको छ ।

सतिसालबाट बन्ने दराज, कुर्सी, टेबल जस्ता फर्निचरहरूलाई तराई तथा भारतीय बजारका कुलिन घरानाका जमिन्दारले प्रयोग गर्ने गरेका कारण पनि यसको विगत वर्षहरूमा निकै विनाश भएको अध्ययनले देखाएको छ ।

सतिसालको महत्त्व बुझेपछि राजाजी समुदायिक वन समूहले संरक्षणमा सक्रियता देखाएको छ । ‘सतिसालको महत्त्व र लोपोन्मुख वनस्पति भएको जानकारी गराइयो,’ डिभिजन वन कार्यालय, त्रिवेणी उदयपुरका डिभिजन वन अधिकृत फणीन्द्र पोखरेलले भने, ‘काठको मूल्य, उपयोग र सरक्षण गर्नुपर्ने अवस्था भएको जानकारी पाएपछि राजाजी समूहले संरक्षणमा सक्रियता देखायो ।’ समूहले अहिले सतिसालका रूखको ट्यागिङ तथा गणना गर्ने र संरक्षणका लागि एक घर एक सतिसाल संरक्षण अभियान सुरु गरेको उनले बताए ।

सतिसाल संरक्षणको नयाँ अभ्यास थालनी गर्न राजाजी सामुदायिक वन समूहका सदस्य सर्वसम्मत छन् । ‘समूहको वन क्षेत्रमा रहेका सतिसालको रूखको गणना तथा ट्यागिङ गरिसकिएको छ,’ अध्यक्ष बलबहादुर मगरले भने, ‘अहिलेसम्म समूहको वन क्षेत्रमा २ हजार बोट सतिसालका रूखमा ट्याग लगाउने काम गरिसकिएको छ ।’ ट्याग लगाइएका रूखको प्रभावकारी संरक्षण गरिने उनले वताए ।

जैविक विविधता कायम गर्न सतिसाल, खयर लगायतका अन्य रूख तथा वनस्पतिको संरक्षणको महत्त्व राजाजी वन समूहका उपभोक्तले बुझेका वन कर्मचारी गिरिराज पोखरेलले बताए । उनले भने, ‘लोपोन्मुख वनस्पतिको संरक्षण र त्यसले जैविक विविधतामा पर्ने असरबारे यस भेगका समुदायमा चेतना विस्तार भएको पाइयो ।’ त्यसैले पनि उनीहरूले सतिसाल संरक्षणमा सक्रियता देखाएको पोखरेलले बताए ।

स्थानीय समुदायलाई नै जैविक विविधता संरक्षणका लागि अग्रभागमा राखेर आगामी आर्थिक वर्षमा अन्य क्षेत्रमा पनि यस्तै सिर्जनात्मक कार्यक्रम कार्यान्वयन गरिने डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ । संरक्षणमा स्थानीयको सक्रियता र सतिसाल संरक्षणमा एक घर एक रूख संरक्षणको अवधारणा उदारणीय रहेको वन कार्यालयले जनाएको छ ।

सतिसाल फूल फुल्ने र सिरसकै जस्तो कोसामा बीउ लाग्ने तर काठ भने चक्र र धर्साबुट्टा कालो रातो रङको हुने अति बहुमूल्यवान काठ मानिन्छ । यसबाट बनेका फर्निचर विश्व बजारमा नै मूल्यवान छ । मन्दिरका टुँडाल, घरका फर्निचर, मेच, टेबल, झ्याल, ढोकाका लागि सतिसाल ज्यादा प्रयोग गरिन्थ्यो । सतिसालको काठमा बुट्टा सजिलै काट्न सकिने र बुट्टा पनि सुन्दर देखिने हुनाले उच्चस्तरको फर्निचरको रूपमा सतिसाल मूल्यवान मानियो ।

प्रकाशित : जेष्ठ १९, २०७८ ११:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×