३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आकर्षक गुँड बनाउन खप्पिस तोप चरा [तस्बिरहरु]

शब्द : अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालको तराईदेखि मध्य पहाडसम्म गुँड बनाउने बया तोप चरा निकै मेहनेती चरा हो । पंक्षीविद् कृष्णप्रसाद भुसालका अनुसार यो चराले झुण्डिएको लामो आकर्षक गुँड बनाउँछ ।

रमाइलो पक्ष के छ भने तोप चराको री (पोथी)ले भने गुँड बनाउन भालेलाई सहयोग गर्दैन । “पोथीले भालेले गुँड बनाएको मज्जाले हेर्छ”, भुसालले सुनाए, “यदी भालेले बनाएको गुँड मन परेन भने पोथी तोप चराले गुँड नै च्यात्ने र भत्काएर अर्को भालेले बनाएको गुँडमा बस्न जान्छ ।” त्यसैले यो प्रजातिमा पोथी चरीलाई “स्वार्थी” चरा पनि भनिन्छ । भुसालले पोथी चरीको अर्को विशेषता सुनाए, “तोप पोथी चरी ‘प्ले गर्ल’ जस्तै हुन्छ ।”

तोप जातको पंक्षीमा कुन भाले चराले आकर्षक गुँड बनाउने भन्नेमा प्रतिस्पर्धा नै चल्छ । उनका अनुसार पोथी तोप चरीले भालेहरूले बनाएका सबै गुँडहरूको मिहिन तरिकाले अवलोकन गरेको हुन्छ । “आफूले बनाएको गुँडमा पोथी आएको बेला भाले तोप चरा पखेटा हल्लाउँदै पोथीलाई आकर्षित गर्न विभिन्न उपाए अपनाउँछ”, उनले भने, “आफूले बनाएको गुँडमा पोथी आएर बसोस् भन्ने हरेक भाले तोप चराको चाहना हुन्छ ।”

यदी कुनै गुँडमा पोथी चरी आएर बसेको अर्को भाले चराले थाहा पायो भने गुँड वरीपरी गएर आवाज निकालेर होहल्ला गर्छ । “ताकी त्यो पोथीलाई आफूतिर आकर्षित गर्न सकियोस्”, उनले सुनाए, “त्यो उनीहरुको कला हो ।” कुन भालेले राम्रो गुँड बनाएको छ भनेर पोथीले छानी छानी हेर्ने गरेको हुन्छ । “त्यसपछि आफूलाई मन परेको गुँडमा गएर बस्छे”, भुसालले भने, “अनि आफू बसेको गुँडको भालेसँग यौन समागम गर्छे, अण्डा पार्छे र बच्चा कोरल्छे ।”


प्रकाशित : जेष्ठ १८, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्