२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

ती मदन भण्डारी [तस्बिरहरू]

माधव घिमिरे

काठमाडौँ — २०५० जेठ ३ अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको एउटा चर्चित ‘दुर्घटना’ हत्या हो वा होइन भन्ने यकिन नभएर अझै पनि ‘रहस्यमय’ छ । ताप्लेजुङको ढुंगेसाँघुमा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते जन्मेका मदन भण्डारीले अल्पायुमै संसार छाडे पनि नेपाली राजनीतिमा एउटा बेग्लै आकर्षक व्यक्तित्वका रुपमा छाप छाडे ।

जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलवादी राजनीतिमा अघि बढ्दै आम निर्वाचन २०४८ मा सहभागी भएको थियो ।

प्रारम्भिक शिक्षा जन्मथलोमै प्राप्त गरेका उनको परिवार २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो । उनले भारतको मथुरामा पनि अध्ययन गरे । भण्डारीले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए ।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेको उनीबारे लिखित कृतिमा छ । २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए ।

२०४१ मा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौथो महाधिवेशनमा महासचिव बनेका थिए । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले (मार्क्सवादी) एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बने ।

२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

उनको विवाह २०३९ सालमा विद्या पाण्डे (हाल राष्ट्रपति विद्यादेवी भण्डारी) सँग भएको थियो ।

बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै पार्टीका अर्का नेता जीवराज आश्रितको पनि मृत्यु भएको थियो । आश्रिमतको गाडीमै शव भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बने पनि दुर्घटना थियो वा अरु केही भन्ने खुलस्त हुन सकेको छैन ।

मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको ‘तस्बिरमा मदन भण्डारी’ कृतिमा समावेश गरिएका यी तस्बिर कतिपय प्रकाशित अनि कतिपय अप्रकाशित रहेको प्रतिष्ठानको भनाइ छ ।

यहाँ संलग्न तस्बिर विराटनगरमा २०७३ सालमा घोस्ट राइटिङ नेपालले आयोजना गरेको १० दिने पुस्तक प्रदर्शनी र साहित्य मेलाका अवसरमा राखिएको तस्बिर प्रदर्शनीबाट लिइएका हुन् ।


प्रकाशित : जेष्ठ ३, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्