कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निषेधाज्ञाले रित्ताे ठमेल [तस्बिरहरू]

दिपेन्द्र रोक्का

काठमाडौँ — शुक्रबार । ठमेल छिर्ने बाटो छेउमै प्रहरीहरु खटिरहेका छन् । ३ जना नेपाल प्रहरी, ३ जना ट्राफिक प्रहरी र ३ जना सशस्त्र प्रहरीहरु यहाँ बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म पहरा दिइरहन्छन् । करिब ५ घण्टाको अन्तरालमा उनीहरूको ड्युटी गर्ने पालो फेरिने गर्छ ।

निषेधाज्ञाको समयमा मापदण्ड नपुगेका सवारी साधनहरु छेउमै नियन्त्रणमा राखिएका छन् । प्रहरीका अनुसार दैनिक ३० देखि ४० वटा सवारी साधन नियन्त्रणमा लिइन्छ । प्रहरी भन्छन्, 'कोहीकोही त धेरै नै बदमासी गर्छन् । अर्काको परिचयपत्र बोकेर सवारी साधन चलाउनेहरूलाई पनि हामीले नियन्त्रणमा लिएका छौं ।'

प्रहरी चेकिङबाट थोरै अगाडि पर्यटक हेल्प डेस्क राखिएको छ । विदेशी पर्यटकलाई मद्दत दिने हिसाबले दुई जना स्थानीय हेल्प डेस्कमा छन् । पर्यटकहरुलाई पीसीआर रिपोर्ट कहाँ गर्ने कुरा बताउनेदेखि उनीहरुलाई विमानस्थलसम्म छोड्ने काम यो हेल्प डेस्कले गर्दै आइरहेको छ । 'बुधबार अन्तर्राष्ट्रिय उडान हुँदासम्म ४० पर्यटकहरुलाई हामीहरुले पिक एन्ड ड्रपको सुविधा दियौं । अन्तर्राष्ट्रिय उडान बन्द भएकाले अब खासै पर्यटक छैनन् ।', हेल्प डेस्कका एक जनाले भने ।

सडक सुनसान छ ।

सुनसान र रिक्सा चढ्ने ग्राहकको कोही नभएकै कारणले होला पट्यार लागेर एकजना रिक्सा चालक आफ्नो रिक्सामै मस्त निन्द्रामा देखिन्छन् ।

धादिङका ३१ वर्षीय आकाश परियार आफ्नो मोबाइलमा क्यान्डी क्रस खेल्दै थिए । परियार १९ वर्षदेखि यो पेशामा छन् । पहिले पहिलेको वर्षमा दिनको ८ सय देखि १५ सयसम्म कमाई हुन्थ्यो । 'जबदेखि कोरोना भाइरसको सतर्कताका लागि सरकारले लकडाउन र निषेधाज्ञा गर्‍यो त्यसपछि हाम्रो व्यापार ठप्प छ । बोनी मात्र पनि नभएको थुप्रो दिन भइसक्यो,' उनी सुनाउँछन् ।

परियारका अनुसार ठमेल क्षेत्र वरिपरी ४७५ हाराहारीका रिक्सा छन् । जसमध्ये ५० देखि ६० वटा मात्रै अहिले सडकमा भेटिन्छन् ।

अर्जेन्टेनियाबाट आएका मार्टिन र उनका दुई साथीहरु रेष्टुरेन्ट खोज्दै गरेको अवस्थामा भेटिए । उनीहरु १४ दिनअघि सगरमाथा आरोहण गर्न नेपाल आएका थिए । तर सरकारले निषेधाज्ञा जारी गरेपछि उनीहरु कहिले सगरमाथा आरोहण गर्न पाउँछन् भन्ने नै ठेगान छैन ।

छेवैको सानो गल्लीमा निशा श्रेष्ठको नाङ्लो पसल छ । उनको टोकरीमा ५-६ वडा चाउचाउ, चुरोट र सुर्ती राखिएका छन् । प्रहरी देख्नासाथ उनी भित्र लुकी हालछिन्।

निशा बिहानै ठमेल छेउबाट सामानहरू ल्याउँछिन् र आफ्नो नाङ्लो पसलमा व्यापारका लागि राख्छिन् । पहिले ३ देखि ४ हजारको व्यापार गर्ने उनी अहिले २ सयदेखि ३ सयसम्म व्यापार गर्ने बताइन् ।

डल्लुमा बस्ने ५५ वर्षीय सोनाम घिसिङ पेशाले ट्याक्सी ड्राइभर हुन् । ठमेलको एक होटेलमा उनी भारतीय पर्यटकहरुलाई लिन आएका हुन् । २८ वर्षदेखि ट्याक्सी पेशामा रहेका उनी एक वर्षदेखि आफूहरूलाई समस्या परेको बताउँछन् ।

'पहिलेको लकडाउनमा यति पनि चलाउन पाइँदैन थियो । अहिले त धन्न यति भएपनि कुदाउन पाइएको छ । तैपनि सोचेको जस्तो व्यापार छैन,' उनी सुनाउँछन् ।

उनको ट्याक्सीमा भारतका फैजल अब्बास र उनका दुई साथी बसेका छन् । उनीहरु नेपाल हुँदै साउदी अरबमा वैदेशिक रोजगार गर्न भारतबाट नेपाल आएका थिए । शुक्रबारै उनीहरूको हवाई उडान थियो । तर उडान नहुँदा उनीहरु अर्को होटेलमा सर्न विवश भएका भए । एकजनाले पीसीआर गरेको कागज देखाउँदै अब चार्टर फ्लाइटमा साउदी जाने बताए ।

पेशाले सुरक्षागार्ड गर्ने रामराजा भित्तामा अडेस लगाउँदै चुरोट तान्दै थिए । १८ वर्षदेखि सुरक्षागार्डको काम गरेका उनी 'ठमेल क्षेत्र अब बिस्तारै पहिलेको जस्तो हुन गाह्रो छ' भनी बताउँछन् ।

थोरै अगाडि दुईजना विदेशी पर्यटकहरु झोला बोकी उभिइरहेका थिए । उनीहरुलाई हेर्दा बाटो भुले जसरी बसिरहेका थिए । 'आर यु गाइज इन प्रबलम' भनी सोध्दा 'वी डन्ट निड एनी हेल्प' भन्दै आफ्नो बाटो लागे ।

मैनज खानले दैनिक ज्याला मजदुरी गर्ने र भोका सडक बालबालिकालाई निःशुल्क खाना खुवाउँदै आइरहेका छन् । पहिलेको लकडाउनमा पनि उनले निःशुल्क खाना बाँडेका थिए । उनले दैनिक ३०० देखि ४०० जनालाई खाना खुवाउँदै आइरहेका छन् । हरेक दिन उनी भेज बिरयानी र हप्ताको एकपटक चिकेन बिरयानी खुवाउँदै आइरहेका छन् ।

इलामका मानबहादुर राई र देवी राई मैनज खानको खाना खुवाउने ठाउँमा भेटिए । राई दम्पती दैनिक ज्याला मजदुरी गर्दछन् । तर निषेधाज्ञाका बेलामा काम नभएपछि छाक टार्न यसरी नै खानाको खोजीमा हिँड्ने गरेको उनीहरू बताउँछन् ।


प्रकाशित : वैशाख २५, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्