२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ज्याकारान्डाले ढकमक्क काठमाडौं (तस्बिरहरु)

तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — सरकारले जारी गरेको निषेधाज्ञाको सातौं दिन फाट्टफुट्ट रुपमा सवारी साधनहरु चलिरहेका छन् । काठमाडौं उपत्यकाको मौसम पनि केही सुध्रिएको छ । सडकपेटीहरुमा बैजनी रंगका फूलहरु छरपष्ट छरिएका छन् ।

शहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा बैजनी रंगको फुलिरहेको यो फूल ज्याकारान्डा हो । यो फूललाई काठमाडौंका नेवारी समुदायका स्थानीय मालीहरू ‘चखुँचा स्वाँ’ भन्दछन् । ज्याकारान्डा आयातीत वनस्पति हो । यो नेपालको रैथाने फूल होइन । विशेषत: यसलाई दक्षिण अमेरिकी मुलुक ब्राजिलको रैथाने वनस्पति मानिन्छ । यो ब्राजिलको पाराना नदी उपत्यकाबाट संसारका अन्य भागमा विस्तार भएको हो ।

ज्याराकान्डाको रूख ६६ देखि ९८ फिटसम्म अग्लो हुन्छ । धेरैजसोले यसलाई शिरीषको फूल पनि भन्ठान्छन् । वास्तवमा अंग्रेजीमा माइमोसा सिरिसा भनिने शिरीषको फूल ज्याकारान्डाभन्दा नितान्त रूपमा फरक हो । तैपनि यसको पात शिरीषको पातसँग धेरै मेल खाने हुँदा वैज्ञानिक नाम ज्याकारान्डा माइमोसिफोलिया राखिएको हो ।

वैशाखको तातोमा ज्याकारान्डा बेस्सरी बौरिएर फुल्छ । घाम चर्केका बेला यसको छहारीमा शीतल लिँदा निकै आनन्द लाग्छ । यी रूख त ढकमक्क नीलो हुन्छन् नै, झरेका फूलले रूख वरिपरि पनि नीलै हुन्छ ।

अति आकर्षक र अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकाले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिकांश सहरका पार्कहरूमा यसले स्थान पाएको छ । नेपालमा पनि काठमाडौंबाहिर समेत यसको विस्तार हुन थालेको छ ।

ज्याकारान्डा निकै गुनिलो वनस्पति मानिन्छ । यसले हावाको नाइट्रोजन खिचेर माटोलाई मलिलो बनाउन मद्दत गर्छ । वसन्त ऋतुमा ज्याकारान्डा फुलेको बेला आसापासको क्षेत्रसमेत रमणीय देखिन्छ । यसले पर्यावरण हराभरा बनाउन सघाउ पुर्‍याउनुका साथै जैविक विविधता कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।


प्रकाशित : वैशाख २३, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्