उपत्यकामा पानी परेपछि‍‍‍‍‍... [तस्बिरहरु]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक/दुई स्थानहरुमा अपरान्ह मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षा भएको हो । वर्षासँगै केही ठाउँमा हल्का असिना समेत परेको विभागले बताएको छ । पानीपछि उपत्यकाका बटुवाहरुले केहीबेर तितरबितर भए ।

यद्यपि कोरोना भाइरस नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएकोले पैदलयात्री र सवारी साधनको चाप थिएन । पानीसँगै आकाश धुम्म परेको छ । पानी परेका बेला हाम्रा फोटो पत्रकार दीपक केसीले काठमाडौंको बानेश्वर क्षेत्रको दृश्य क्यामेरामा कैद गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने बिहान बुलेटिन जारी गरेको थियो । बिहीबार राति पनि तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहने र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित : वैशाख १६, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा आइतबारदेखि निषेधाज्ञा

विप्लव महर्जन

सल्यान — सल्यानमा आइतबारदेखि निषेधाज्ञा हुने भएको छ । जिल्लाका सबै क्षेत्रमा कोरोना संक्रमण फैलिएको भन्दै नियन्त्रणका लागि वैशाख १९ देखि जेठ १ गतेसम्म १५ दिनका लागि निषेधाज्ञा हुने भएको हो ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र, सल्यानको जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले गरेको निर्णय अनुसार वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने छ ।

निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनमा पूर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । उनले बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पसल संचालन गर्न पाउने जानकारी गराइन् ।

उनका अनुसार अत्यावश्यक बाहेक सरकारी तथा सार्वजनिक कार्यालयका अन्य सेवाहरु समेत बन्द गरिने छ । जिल्लाबाहिर तथा भारतबाट फर्केकालाई स्थानीय तहले १० दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्नेछ । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उपचारका लागि जिल्ला अस्पताल सल्यानमा संचालित आइसोलेसनमा २० बेड थप गरिने उनको भनाइ छ ।

बाहिरबाट आएकालाई सिधै घरमा जान दिन भन्दा स्थानीय तहले क्वारेनटाइन र आइसोलेसन बनाएर राख्न उनले आग्रह गरेकी छिन् । कोरोना भाइरस संक्रमण फैलिएसँगै जिल्लाका विभिन्न स्थानीय तहले पनि कार्यालयबाट दिने सेवा बन्द गरेका छन् भने मुख्य बजारसमेत बन्द गरिसकेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ५९ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख १६, २०७८ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×