३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उपत्यकामा निषेधाज्ञाको पहिलो दिन : कतै जाम, कतै सुनसान [तस्बिरहरू]

तस्बिर : दीपक केसी, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन्  ।

चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलं‍कीलगायत नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि देखिएको छ । बुधबार बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि नाकाहरूमा चाप बढेको हो ।

निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ । निषेधाज्ञा पालना गराउनकै लागि उपत्यकामा ३ हजार ५ सयजति प्रहरी खटाइएका छन् । सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक–फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्ने नियम बनाइएको छ । प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा डोरी टाँगेर होल्डिङ सेन्टर बनाएका छन् । अत्यावश्यक सेवा र अनुमतिवाहकबाहेकका सवारी र पैदलै मानिसको आवागमन भए नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्न तीनवटै प्रशासनले प्रहरी र सशस्त्रलाई निर्देशन दिएका छन् ।


प्रकाशित : वैशाख १६, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्