कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको करङे डाँडामा डढेलो [तस्बिरहरू]

केशव थापा

सिन्धुली — सिन्धुलीको सुनकोशी गाउँपालिका–१, नेपालथोकको करङे डाँडामा आइतबारदेखि लागेको डढेलो सोमबार दिउँसोसम्म नियन्त्रणमा आएको छैन । हालसम्म कुनै मानवीय क्षति नभए पनि डढेलोसँगै हावाहुरी लागेपछि स्थानीयहरूले जंगल नजिकैका घरहरु खाली गर्न थालेका छन् । स्थानीयले डढेलो निभाउने प्रयास गरे पनि अहिलेसम्म डढेलो नियन्त्रणमा आएको छैन ।


प्रकाशित : वैशाख १३, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

रिपोर्टरको डायरी : मास्कले छोपिएको पीडा

कोभिड–१९ को भयावह अवस्था झेलिरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा लगातार दुई दिन स्थलगत रिपोर्टिङ गर्न पुग्दा देखिएको दृश्यले समाचारको लागि लोभिने मेरा आँखा संवेदनाले भरिएका थिए ।
मधु शाही

नेपालगन्ज — ‘माफ गर्नुहोला, तपाइँको बिरामी राख्‍ने बेड छैन’, स्वास्थ्यकर्मीको धर्मअनुसार यस्तो तीतो जवाफ फर्काउन मिल्दैन । तर, परिस्थिति यस्तै छ, नचाहँदा–नचाहँदै पनि रुखो बोल्नुपर्ने । आँखा वरिपरि अनिद्राका कारण काला धर्सै–धर्सा छन् ।

ढुंगाले थिचिएजस्तो भारी शरीर लिएर बिरामीको सेवामा खटिएका नर्सलाई के भयो ? भनेर सोध्ने कोही थिएनन् । बरु उल्टै बिरामीका कुरुवाले टोकसेको टोकसै थिए । यस्तो अवस्थामा डा. प्रतिज्ञा आचार्यले संयम हुँदै भनिन्, ‘सकेसम्म हेरौंला नि ! नआँत्तिनुस् ।’

कोभिड–१९ को भयावह अवस्था झेलिरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा लगातार दुईदिन स्थलगत रिपोर्टिङ गर्न पुग्दा देखिएको दृश्यले समाचारको लागि लोभिने मेरा आँखा संवेदनाले भरिएका थिए ।

कोभिड विशेष अस्पतालभित्र पुग्न नपाउँदै बाटोमै चारवटा शव स्टेचरमा लस्करै राखिएको थियो । शव कालो प्लास्टिकमा पोका पारेर बेरिएका थिए । मानौं ती कुनै फाल्तु सामान हुन् । न त्यो शव सम्झेर रुने कोही थिए न हेर्ने । एक मिटर पर कसैले मोबाइल तेसाईरहेका थिए । फोटो र भिडियो खिच्दै थिए । त्यो देखेर फेरि मनमा लाग्यो कि यी शव कुनै चर्चित व्यक्तिका हुन् । कोरोनाले ‘मास्क’ भित्र हाम्रो ओठका मुस्कान लुकाएको त छ नै, सँगै पीडाको चित्कारसमेत बन्द गरिदिएको छ । आफन्त मर्दा खुलेर रुन पाउँदैनन् आफन्तिहरु । कोक्रोजस्तो ठूलो मास्कले ढपक्कै अनुहार छोपिदिन्छ, आवाज बन्द गरिदिन्छ ।

पत्रकार सुदिप मल्ल त्यही मास्कभित्र पीडा गुम्साउँदै उभिएका थिए । नाक, मुख ढपक्कै छोप्ने गरी पोको पारिएको शवमा आँखा डुलाइरहन्थे । दुई दिनअघि मात्रै अस्पताल भर्ना गरेका उनले अचानक आमा गुमाए । आमासँगै ममता गुमाए । ‘जसको कोखबाट जन्मिएँ, उसैलाई छुन नपाइ बिदा गर्नुपर्ने, कस्तो दिन आइपर्‍यो ?’, उनी कालो पोका हेर्दै भन्थे, ‘आई मिस्ड यू मुमा ।’

सुदिपजस्ता धेरै सर्वसाधारण भेरी अस्पतालको शय्यामा आफन्त जोगाउन स्वास्थ्यकर्मीसँग अपिल गरिरहेका छन् । मास्क भित्रै गाइँगुइँ चलिहरन्थ्यो । कसैले अक्सिजन मास्क फुस्किएकोले अस्तिको मान्छे गयो भन्थे । कोही पानी खान नपाई गयो विचरो भन्दै पीडा पोख्थे । एकातिर बिरामीको विजोग देखेर अस्पताल व्यवस्थापनप्रति झनक्क रिस उठ्छ । फेरि त्यही खटिएका स्वास्थ्यकर्मीको व्यथा बुझ्दा मन छटपटिन्छ । आखिर यो भयावहको व्यवस्थापन कसले गर्ने हो ? अस्पतालमा स्वास्थ्यकर्मीदेखि बिरामी दुवै पक्ष एकअर्कामा गुनासो गर्दैछन् । यसको समाधान कसले निकाल्ने हो ? यतिबेला कोभिड अस्पतालमा भर्ना हुनेको दैव भरोसा पर्नु हो ।

अस्पतालको छेउछाउ बसेका आफन्तको सुस्केरामा ‘हे भगवान !’ शब्द मात्रै सुनिन्छ । पाँच दिनदेखि भेन्टिलेटरमा राखेर छोराको हेरचार गरिरहेकी ६० वर्षीया सत्या केसीको मन भत्भती पोलेको सहजै बुझ्न सकिन्थ्यो । वृद्धवृद्धालाई कोरोना छिट्टै सर्छ भन्ने सुनेकी थिइन् । तर, त्यसको ठीक उल्टो हुँदा उनी झनै दु:खी देखिन्थिन् । छोराको सट्टा आफूलाई किन लागेन रोग भन्दै एक्लै कराउँदै थिइन् । ‘डाक्टरले जे पनि हुनसक्छ,’ भन्दा ती आमा रुँदै थचक्क भुइँमा बस्छिन् । उनी अरु गर्न पनि त के सक्छिन् र ?

भेरी अस्पतालका चिकित्सक राजन पाण्डे भन्छन्, ‘यस्तै अवस्था आउँछ भनेर हामीले एक महिनाअघि नै नाकामा कडाइ गर भनेको हो । कसैले टेरपुच्छर लगाएनन् ।’

भेरी अस्पतालमा राखिएको संक्रमीतको शव लैजाँदै ।

उनको भाषामा विगतको समिक्षा झल्किन्थ्यो । उनले यस्तो भयावह स्थिति आउनुमा भारतसँग जोडिएको जमुनाह नाकामा चरम लापरबाही गर्नुले भएको बताउँछन् । साथै, सर्वसाधारण आफैं पनि महामारी फैलाउनेमा मुख्य जिम्मेवार हुन् । स्वास्थ्य मापदण्ड नपनाई निर्विग्न घुमफिर गर्दाको परिणाम हो यो । बाँकेको स्वास्थ्यकर्मी, प्रशासन, स्थानीय सरकार, नागरिक समाज सबै भगवान भरोसामा छन् ।

हुँदैछ, गर्दैछौँ, छिट्टै हुन्छ जस्ता मीठा शब्दले महामारी नियन्त्रण हुँदैन । केन्द्र, प्रदेश, स्थानीय सरकारले बाँकेका छटपटाइरहेका बिरामीको उपचारमा सहयोग गर्न जरुरी छ । बेड नपाएर, जनशक्ति नपुगेर, बिरामीको मृत्यु हुनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठ हो ।

प्रकाशित : वैशाख १३, २०७८ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×