रातमा यस्तो देखियो धरहरा [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — मुलुकलाई २०७२ वैशाख १२ को भूकम्पको त्रासदी सम्झाउने सबैभन्दा गतिलो चिनो थियो सुन्धाराको धरहराको ठुटो । अब यो ठुटोसँगै नयाँ संरचना तयार भएको छ, जसले मुलुक निर्माणको नयाँ युगमा प्रवेश गरेको सम्झाउनेछ । नयाँ धरहरा आधुनिक सुविधायुक्त र बलियो बनाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार धरहराको मूल टावर निर्माणको काम पूरा भएको छ । दुइटा लिफ्ट राख्ने र रङरोगन गर्ने काम सकिएको छ । दुईमध्ये एउटा लिफ्ट सञ्चालनमा आएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न–हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना धेरै फरक छ । यसमा प्राचीन धरहराको गजुरबाहेक अरू कुनै पनि सामग्री प्रयोग भएको छैन । भूकम्पले धरहरा ढालेपछि गजुर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । त्यसलाई मर्मत गरेर जलप लगाई नयाँ संरचनाको टुप्पामा राखिएको मानन्धरले जानकारी दिए । जलप लगाउन ९५ तोला सुन खर्च भएको छ ।

नयाँ धरहरामा फोटो खिच्ने ठाउँ र पानीका फोहोरा जस्ता संरचना पनि हुनेछन् । तिनै फोहोरा हुँदै संग्रहालय जाने बाटो बनिरहेको छ । धरहरामा भएका पुरातात्त्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेसिनलगायतका सामान संग्रहालयमा राख्ने योजना छ । तीनतले पार्किङमा ३ सय ४७ वटा गाडी र ७ सय मोटरसाइकल अट्ने मानन्धरले जानकारी दिए । दुई तलाको संग्रहालय, गिफ्ट सप, सानो थिएटर आदि पूर्वाधारसमेत हुनेछन् । यी सबै सुविधा भने धरहरा क्षेत्रको निर्माण पूरै सकिएपछि उपलब्ध हुनेछ । पटक–पटक डिजाइन गरेर अहिलेको स्वरूप फाइनल गरिएको हो । निर्माण थाल्नुअघि उचाइ २ सय ४५ फिट हुने भनिएको थियो । त्यो उचाइमा बाहिर ९ तले, भित्र ११ तले हुने गरी डिजाइन गरिएको थियो । पछि यसलाई परिमार्जन गरी २२ तले डिजाइन बनाइएको हो । नयाँ धरहराको उचाइ २६२.४६ फिटको बनेको छ । यही धरहरा रातिकालीन दृश्य कान्तिपुरका फोटो पत्रकार इलिट जोशीले आफ्नो क्यामरामा कैद गरेका छन् ।

प्रकाशित : वैशाख १०, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

आठौंपल्ट जिब्रो छेडे बोडेका बुद्धकृष्णले [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । गत वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जात्रा औपचारिकतामै सीमित भयो ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासी मध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सरकारले भीडभाडजन्य कार्य नगर्न नगराउन अनुरोध गरे पनि नगरपालिकाले जात्रा सञ्‍चालन गरिरहेको छ ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगरपरिक्रमा गराए देशमा दु:ख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिने जनविश्वास छ ।

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ८ र जुजुभाइवांग श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।


प्रकाशित : वैशाख २, २०७८ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×