२२ तले धरहरामा सजियो गजुर

तस्बिर : केशव थापा

काठमाडौँ — पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो ।

२०७२ वैशाखको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको थियो । भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिनेछ । पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ । यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसका बुट्टा रहेका छन् भने पुरानै शैलीका गोला झ्यालहरू यसमा देख्न पाइनेछन् ।

२०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिनेछ । नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ जुन अपांगमैत्री हुनेछन् । पहिलेको धरहरामा गोलो भर्‍याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ । पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी बनाइएको छ । पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। यो तीन तहको पार्किङ क्षेत्र हुनेछ भने यसको माथि बगैंचा र पानीको फोहोरा हुनेछ ।

अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । छेवैमा रहेको सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो । सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए । सुनको जलप लगाइएको गजुर रहने गुम्बज शैलीको यो संरचनाको डिजाइन मुगल कालिगढहरुले गरेको बताइन्छ ।


प्रकाशित : वैशाख ६, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्