कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आइतबार लागेको डढेलो हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा लिने प्रयास गरिँदै । तस्बिरः अंगद ढकाल

दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा फलामको रड र कोदालोले हिर्काएर मारिएको खैरे नामको कुकुर हत्या विरोधमा बुधबार पशु प्रेमीहरुले माइतीघरमा गरेको विरोध प्रदर्शन । तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना

बर्दीया राष्ट्रिय निकुञ्जभित्र देखिएको पाटे बाघ । तस्बिर : हेमन्त श्रेष्ठ

कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडक खण्डस्थित कोदहवा गाउँ नजिकबाट मंगलबार २०७७ को अन्तिम सूर्यास्त । मनमोहक सूर्यास्तसँगै बालबालिका रमाउँदै थिए । तस्बिर: मनोज पौडेल

३७ वर्षअघि पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) मुर्ति सोमबार फिर्ता भएपछि बिहीबार पुरातत्व विभागमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै । तस्बिर : प्रकाश चन्द्र तिमेल्सेना

कोरोना संक्रमणको दोस्रो लहरकोबीच भक्तपुरको मध्यपुर थिमि क्षेत्रमा सिन्दुर जात्रा मनाउँदै स्थानीय बासिन्दा । तस्बिर : अंगद ढकाल

काठमाडौंको असनमा नेवार समुदायको महत्त्वपूर्ण पर्व पाहाा चह्रे (पिशाच चतुर्दशी) मा खट जुधाउँदै भत्तजनहरु । लगातार तीनदिनसम्म चल्ने यो पर्वको समापनमा विभिन्न रंगका खट जुघाउने परम्परा छ । तस्बिर : इलिट जोशी


प्रकाशित : वैशाख ४, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

मेलमिलापको दर बढाउने योजना

प्रकाश बराल

बागलुङ — सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले अदालतमा आउने मुद्दालाई मेलमिलाप मार्फत टुंग्याउने दर बढाउने बताएका छन् ।


उनले अहिले २० प्रतिशत मुद्दा मेलमिलाप मार्फत् टुंगोमा पुगेको बताउँदै यो दरलाई बढाएर समाजमा सामाजिक सद्‌भाव ल्याउने सरकारी नीति र सर्वोच्च अदालतको योजना रहेको सुनाए ।

मेलमिलाप पद्धतिमा पक्षहरुको भूमिका विषयक कार्यक्रममा शनिबार बागलुङ आएका न्यायाधीश केसीले अदालतबाट हारजीत भएका मुद्दाले समाज विभक्त हुने र मेलमिलाप भएमा एकताबद्ध बन्ने बताएका हुन् । शनिबार सर्वोच्चकै आयोजनामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका कानून व्यवसायी र मेलमिलापकर्ताबीच नेपालको मेलमिलाप पद्धतिको सुधारका विषयमा अन्तरक्रिया सम्पन्‍न भएको थियो ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले मुद्दालाई मेलमिलापमा टुंगो लगाउँदा इतिहास रच्ने अवसर बन्ने बताए । उनले सिंगापुरमा अध्याधिक प्रयोगमा आएको मेलमिलाप नीति नेपालमा उत्साहजनक रुपमा प्रवेश भएको बताए ।

कार्यक्रममा न्यायाधीशद्वय श्रीकान्त पौडेल र श्रीलाल पौडेलले न्यायिक निकायको कामकारबाही र मेलमिलापको आवश्यकता लगायतका विषयमा कार्यपत्र मार्फत मेलमिलाप प्रक्रिया बढाउने योजना सुनाएका थिए । उनीहरुले नेपालमा ९६ मेलमिलाप केन्द्र र १ हजार ९ सय ४४ जना सूचिकृत मेलमिलापकर्ता मार्फत कूल मुद्दाको २० प्रतिशत छिटोफानो भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

२०६८ सालमा ऐन आएर पनि अभ्यास भइरहेको मेलमिलापलाई कम्तिमा ५० प्रतिशत सफलतामा पुर्‍याउने सर्वोच्चको योजनामा सबैले साथ दिनुपर्ने समेत केसीले बताए । सर्वोच्चले बागलुङका १० वटै पालिकाको न्यायिक समितिको समीक्षा, अनुगमन र न्यायिक कार्यको अभिमुखिकरण समेतको योजना बनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×