तस्बिरमा हेर्नुहोस्, नेपाल र नेदरल्यान्ड्सको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३६ रन बनाएको थियो । डेब्यु गरिरहेका कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गर्‍यो । यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।

कुशलले ४६ बल खेली ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए । आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । विजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाई अविजित रहे । यसअघि नेदरल्यान्ड्सलाई सस्तोमा रोक्न सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु नै आउट गरे ।

नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए । कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहदैं २० रन बनाएपछि नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो । सन्दीप बाहेक नेपालबाट सोमपाल शाहब आलमले १,१ विकेट लिए ।


प्रकाशित : वैशाख ४, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्