२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

भृकुटीमण्डपमा प्राविधिक तालिम लिनेहरुको घुइँचो [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — शुक्रबार बिहान ८ बजे काठमाडौंको भृकुटीमण्डप परिसरमा एकाएक मानिसहरुको भीड लाग्न थाल्यो । भीडमा पुरुषभन्दा महिला बढी थिए । एकछिनमा भृकुटीमण्डपकै एक छेउमा फारम बोेकेका कर्मचारी आइपुगे । लाइन झन् बढ्न थाल्यो । उनीहरु सबै प्राविधिक तालिम लिनुअघि भौचर लिएर तालिम लिने विषय र स्थान छनोट गर्न लाइनमा लागेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नि:शुल्क ३ महिने तालिम प्रदान गर्न अनलाइन आवेदन खुलाएको थियो । त्यसका लागि देशैभरिबाट ३६ हजार प्रशिक्षार्थीले अनलाइन आवेदन दिएका छन् । त्यसमध्ये १५ हजार ४ सय ४६ जना छनोट भएको र तीमध्येबाट मेरिट लिस्टका आधारमा यसपटक ८ हजार ५ सयलाई तालिम दिइने छ । सिलाइकटाइ, कुक, मोबाइल मर्मत, सिकर्मी, डकर्मी, ब्युटिसियन, बेमौसमी तरकारी उत्पादन लगायतको तालिमका लागि फारम खुला गरिएको थियो। प्रशिक्षार्थीहरुले आफूले तालिम लिन चाहेको विषय र स्थान आफूले नै छनोट पाउने छन् ।

तालिम ढिलोमा एक महिनामा काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा सञ्चालन हुनेछ । ३ महिने तालिम सञ्चालनपश्चात सिटीइभिटीअन्तर्गत रहेको सीप परीक्षण समितिले नि:शुल्क सिप परीक्षण गर्ने र पास हुनेलाई प्रमाण पत्र प्रदान गर्ने तालिम शाखाका अधिकृत गंगा सुनुवारले बताए ।


प्रकाशित : वैशाख ३, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्