आठौंपल्ट जिब्रो छेडे बोडेका बुद्धकृष्णले [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाएका छन् । जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् । गत वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जात्रा औपचारिकतामै सीमित भयो ।

जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासी मध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा छ । सरकारले भीडभाडजन्य कार्य नगर्न नगराउन अनुरोध गरे पनि नगरपालिकाले जात्रा सञ्‍चालन गरिरहेको छ ।

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पीठहरुको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च मनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगरपरिक्रमा गराए देशमा दु:ख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिने जनविश्वास छ ।

हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ८ र जुजुभाइवांग श्रेष्ठले ८ पल्ट जिब्रो छेडेका छन् ।


प्रकाशित : वैशाख २, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले अति प्रभावित १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी  वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द  गर्नुपर्ने अवस्था रहेको बताएको छ ।

बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी) ले ८ बुँदे अपिल जारी गर्दै काठमाडौं उपत्यकाका ३ जिल्लासहित १४ जिल्लामा विद्यालय, रात्रिकालीन व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिमलगायतका बढी भीडभाड हुने क्षेत्रमा सहभागी नभइदिन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङ) बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिनु हुन ।'

स्वास्थ्य मन्त्रालयले बन्द गर्नुपर्ने अवस्था रहेको बताउँदै अप्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई विद्यालय नपठाउन अपिल गरेसँगै अभिभावक र विद्यार्थीहरूमा अन्योल बढेको छ ।

पछिल्लो समय विभिन्न सार्वजनिक स्थलमा भीडभाड बढेको र त्यसैका कारण फेरि संक्रमण विस्तार हुन सक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार ५८८ परीक्षणबाट बिहीबार ४९० जना संक्रमित फेला परेका हुन् । त्यस्तै ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २, २०७८ १७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×