मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — बिहीबार मध्यपुर थिमि नगरमा मनाइने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

जात्रामा सयौं सहभागी भए पनि जनस्वास्थ्यका मापदण्ड भने पालना गरिएको थिएन । सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने परम्परा छ ।

परम्पराअनुसार नै देवता लाय्कू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।


प्रकाशित : वैशाख २, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्