यस्तो देखियो टुँडिखेलमा घोडेजात्रा [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडाैं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–काैशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो । यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर सांकेतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिइएको हो ।


प्रकाशित : चैत्र २९, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्