कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा बिस्का जात्राको रौनक [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

भादगाउँ — सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारबाट सुरु भएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरुआत गरिएको छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ । बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

प्रकाशित : चैत्र २८, २०७७ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

विभूषणबारे गृहद्वारा स्पष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।

सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अङ्कित भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणमा सोहीबमोजिमको नक्सा अङ्कित भएको र यसको सुशोभन आगामी वैशाख १ गते गरिने पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २८, २०७७ १८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×