१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आमासँग बिछोडिएकी अञ्‍जलीलाई पुष्पाको साथ

रमेशकुमार पौडेल

एउटाको नाम पुष्पा, अर्कोको अञ्जली । दुवैलाई एकैपटक बोलाउँदा पुष्पाञ्जली । नाम र उमेर फरक–फरक भए पनि दुवैको कथा उस्तै छ । यी दुवै माउबाट बिछोडिएका गैंडाका निकै साना बच्चा हुन् ।

माउबाट छुट्टिएका यिनले अहिले सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय हाताभित्र मान्छेको स्याहार पाएका छन् । एउटाको १५ महिनाअघि उद्धार भएको हो । अर्को बच्चा गैंडा भर्खर आएको हो ।

‘चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गैंडा गणनाका क्रममा एउटा सानो बच्चा गैंडा भेटियो । लामो समय हेर्दा पनि त्यसलाई दिन कुनै माउ गैंडा आएन । बच्चा वरपर माउ गैंडा नभेटिएपछि उद्धार गर्नु पर्‍यो,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने । चैत्र २५ गते बिहीबार उद्धार गरेर त्यो बच्चा गैंडालाई सौराहा ल्याइएको हो ।

निकै थकित र भोकाएको अवस्थामा भेटिएको थियो सानो गैंडा । सौराहा आएपछि यसको स्याहारमा अहिले कोषका कर्मचारी लालबहादुर महरा खटिरहेका छन् । सानो बच्चालाई दूध मात्र खुवाउनु पर्दछ । सानो भए पनि चकचक गरिरहने भएकाले लालबहादुरले चनाखो भएर उसको गतिविधि नियाल्नु परिरहेको छ ।

१५ महिनादेखि उनले अर्को यस्तै बच्चा गैंडाको स्याहार गर्दै आएका छन् ।७६ सालको पुसमा निकुञ्जको पश्चिम क्षेत्रबाटै गैंडाको अर्को बच्चाको उद्धार भएको थियो । त्यसलाई पनि माउले नै छाडेको थियो । ‘७६ सालको पुसमा ल्याउँदा त्यो पनि यही जस्तै थियो । पुसमा ल्याएको हुनाले पुष्पा नाम राख्यौं । अहिले फेरि उस्तै कारणले अर्को उत्रै उमेरको बच्चा उद्धार गरेर ल्याउनु पर्‍यो । पुष्पासँग मिल्ने अञ्जली नाम राख्यौं । पुष्पाञ्जली भन्न पनि पाइयो,’ लालबहादुरले भने । सुरु सुरुमा दूध मात्र खाने गैंडाको बच्चाले विस्तारै गाजर, मूला, बन्दा खान थाल्छन् । ठूलो भएपछि कुँडो पनि खुवाउनु पर्दछ ।

जंगलमा तीन वर्षको हुँदासम्म गैंडाका बच्चा आमासँगै हिँड्छन् । त्यो बेलासम्म पनि आमाको दूध चुसिरहेका हुन्छन् । जन्मेको तीन चार दिन पनि नहुँदै आमासँग बिछोड भएका यी बच्चाहरु हुर्केपछि जंगलमै छाड्ने गरिन्छ । निकुञ्जसँग मिलेर उद्धार र स्याहारको काम राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयले गर्दै आएको छ । डेढ दुई वर्षको अन्तरालमा यस्ता टुहुराहरु भेटिने र उद्धार हुने गरेको कोषको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछाने बताए । अहिलेसम्म २० वटा बच्चा गैंडाको उद्धार भएको उनले जानकारी दिए ।


प्रकाशित : चैत्र २८, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्