कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विराजको सुखद संन्यास [तस्बिरहरू]

सबै राम्रा खेलाडीले यसरी नै ठीक माहोलमा संन्यास पाउनेछन् भन्ने पनि हुन्न । किनभने सबै राम्रा खेलाडी भाग्यमानी हुने गर्दैनन् । आखिरमा उनी भाग्यमानी रहे ।
हिमेश, तस्बिर : इलिट जोशी, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली फुटबलका पक्कापक्की लिजेन्ड खेलाडी हुन्, विराज महर्जन । नेपाली फुटबलमा विराजको त्यही स्थान छ, जुन यसअघिका प्रमुख खेलाडी र कप्तानको छ । अझ सके, त्योभन्दा पनि धेरै बढी । नत्र उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुने थिएनन् । सर्वाधिक उपाधि जित्ने कप्तान पनि उनको नाममा रहने थिएन । सन् २०१६ नेपाली फुटबलका लागि सबैभन्दा महत्त्वपूर्ण र सफलताको वर्ष हो भने विराज त्यसका महानायक हुन् ।

त्यसअघि नेपाली फुटबल लगातार उपाधिको खडेरीबाट गुज्रिइरहेको थियो । सबैले सन् १९९३ मा नेपालले छैटौं दक्षिण एसियाली खेलकुदमा जितेको स्वर्णको कुरा गर्थे अनि प्रश्न गर्थे, नेपालले अर्को ठूलो सफलता कहिले चुम्ने हो त ? यसको उत्तर सन् २०१६ मा आएको थियो, जतिबेला नेपालले सबैभन्दा पहिले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जित्यो, त्यसपछि मलेसियामा भएको एएफसी सोलिडारिटी कप । अझ त्यसबीचमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ स्वर्ण ।

यो भने यू–२३ मा प्राप्त सफलता भयो । यी तीनै उपलब्धिका कप्तान हुन्, तिनै विराज । दशरथ रंगशालाको छेउमै छ, उनको घर । लगभग सय मिटरभन्दा केही दूरीमा । त्यहाँको महर्जन परिवारले नेपाली फुटबललाई धेरै दिएको छ । सबैभन्दा पहिले रत्न महर्जन । उनले नेपाली यू–२३ टिमबाट खेले । उनी विराजका काका हुन् । त्यसपछि उनका दाइ विक्रम महर्जन । उनले यू–१६ बाट खेले । तर उनीहरू दुवैले नेपाली राष्ट्रिय टिमका लागि खेलेनन् ।

विराजले भने खेले । उनले खेलेनन् मात्र होइन, धेरै खेले । थ्री नेसन्स कपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध सब्स्टिच्युटका रूपमा उनी ९० औं मैदानमा प्रवेश गरे र अन्तिम पटक नेपालका लागि खेले । उनले यसक्रममा नेपालका लागि कीर्तिमान ७३ औं पल्ट खेले । आफ्ना प्रशिक्षक राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर उनी नेपालका लागि सर्वाधिक खेले खेल्ने खेलाडी बनेका थिए । यो आफैंमा कम्तीमा ठूलो होइन र ?

सन् २००८ को मार्च २५ मा उनले नेपालका लागि पहिलोपल्ट खेलेका थिए । त्यागे पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो । त्यतिबेलाका आधिकारिक प्रशिक्षक थिए, भीम थापा । तर उनी त्यतिबेला कागजी प्रशिक्षकमात्र थिए, प्रशिक्षकका रूपमा सबथोक बालगोपाल महर्जन र उपेन्द्रमान सिंहले काम गरेका थिए । एक प्रकारले विराजले प्रशिक्षक महर्जनकै पालोमा डेब्यु गरे अनि उनी नै प्रशिक्षक भएको बेला संन्यास लिए । यो पनि अर्को संयोग रह्यो । त्यो पनि मीठो ।

उनी त्यो खेलमा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरे, ८९ औं मिनेटमा, अञ्जन केसीको स्थानमा । त्यो खेलमा उनीसँगै ५ खेलाडीले डेब्यु गरेका थिए, सन्दीप राई, चुनबहादुर थापा, भरत खवास र विकाससिंह क्षेत्री । उनले कुल १८ पल्ट कप्तानी गरे । केरलामा भएको साफ च्याम्पियनसिपमा घरेलु टोली भारतविरुद्धको खेलमा उनले पहिलोपल्ट कप्तानी गरेका थिए । उनले यसपल्टको फाइनल अगाडि अन्तिम पटक सन् २०१९ मा मलेसियाविरुद्धको मैत्रीपूर्णमा खेलेका थिए ।

उनले नेपालका लागि एक गोल पनि गरे, जुन आफैंमा उत्तिकै सम्झनलायक छ । किर्गिस्तानविरुद्ध सन् २००९ को मार्च २८ मा उनले त्यो एकमात्र गोल गरेका थिए, त्यो पनि मैदानको मध्यभागबाट । सेन्ट्रललाइनको छेउबाट उनले हानेको प्रहार अविश्वसनीय रूपमा गोलमा परिणत भएको थियो । यो गोलको कथा यत्तिकैमा टुंगिन्न । यो ७७ सेकेन्डमा सम्भव गोल हो, जुन नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको सबैभन्दा छिटो गोल हो ।

पछिल्लो समय भने उनी टिममा स्थान बनाउन संघर्षरत थिए । त्यसैले उनी संन्यासको पर्खाइमा थिए, जुन बंगलादेशविरुद्धको फाइनलमा सम्भव भयो । फेरि उनी यस्तो संन्यासको हकदार पनि थिए । सबै राम्रा खेलाडीले यसरी नै ठीक माहौलमा संन्यास पाउनेछन् भन्ने पनि हुन्न । किनभने सबै राम्रा खेलाडी भाग्यमानी हुने गर्दैनन् । आखिरमा उनी भाग्यमानी रहे । भनिन्छ, भाग्यले तिनै खेलाडीलाई मात्र साथ दिन्छ, जसले साँच्चै केही राम्रो गरेका हुन्छन् । एन्फा दोस्रो ब्याचका यी खेलाडीलाई भाग्यले ठग्न सकेन ।


प्रकाशित : चैत्र १७, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्