यस्तो रह्यो सेना दिवस [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नेपाली सेनाले बिहीबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सहभागी भए ।  त्यस क्रममा सैनिकहरूले विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए ।

वि.सं. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाइँसमेत गरेको छ । त्यसै गरी बढाइँ कवाज, नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायिक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको थियो । 

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरिन् । सेनाको बढाइँ हेर्न टुँडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो ।


प्रकाशित : फाल्गुन २७, २०७७ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्