२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रधानमन्त्री ओली र नेकपा महासचिव चन्द एकै मञ्‍चमा [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाका महासचिव चन्दले सहमतिपत्रमा हस्ताक्षर गर्दैछन् ।

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच भएको सहमति बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा चन्द समूहबाट सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने सम्मिलित वार्ता टोली मंगलबार गठन गरिएको थियो । दुवै टोलीले बुधबार बिहान र बेलुका तथा बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता गरेर निष्कर्ष निकालेका थिए ।


प्रकाशित : फाल्गुन २१, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्