कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सापकोटा र नेकपा अध्यक्ष दाहालले लगाए कोरोना खोप [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिन सुरु गरेको छ । बुधबार बिहान १० बजेदेखि काठमाडौंको सिभिल अस्पतालमा सांसदहरूलाई खोप लगाइँदै छ ।

सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, सांसद पूर्णाकुमारी सुवेदीलगायतले सुरुमै खोप लगाएका छन् ।त्यस क्रममा दाहालले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।

खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित थिए । संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारका स्वास्थ्य इकाइ प्रमुख डा. पुष्पराज रिजालका अनुसार सांसद, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोप व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका झन्डै ३ सय ३० सांसद, १ सय ३० भन्दा बढी मर्यादापालक र संसद् भवनमा प्रवेश गर्ने अन्य कर्मचारीसहितलाई खोप लगाउने कार्यक्रम छ ।


प्रकाशित : फाल्गुन १९, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

सरकार र चन्द समूहबीच वार्ता सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता सुरु भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै दुवै पक्ष वार्तामा बसेका हुन् । 

बुधबार बिहानदेखि दुवै पक्षबीच वार्ता भइरहेको र वार्तास्थल गोप्य रहेको चन्द समूहका एक नेताले जानकारी दिए । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी छन् ।

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।

सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो । मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सम्बन्धित समाचार

कसरी बन्यो सरकार र चन्द समूहबीच वार्ताको वातावरण ?

प्रकाशित : फाल्गुन १९, २०७७ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×