सडक विस्तारपीडितलाई पुन:स्थापना माग गर्दै प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा

काठमाडौँ — बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रमअन्तर्गत मातृभाषा संरक्षण र बालाजु बाइपासका सडक विस्तार पीडितलाई पुन:स्थापना गर्नुपर्नेलगायत विषय उठाइएका थिए ।


प्रकाशित : फाल्गुन १४, २०७७ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

चित्रकलामा संसारले बुझ्‍ने भाषा हुन्छ : हरिवंश आचार्य

'हाम्रो संसद् भवन, सरकारी अफिसमा देशका प्रख्यात चित्रकारको कला किनेर ठाउँ–ठाउँमा राखिदिने हो भने कला सजावटको एउटा कल्चर नै डेभलप हुन्छ ।'
सुशीला तामा‌ङ

काठमाडौँ — नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागले नेपालका प्रतिष्ठित व्यक्तिहरुको मंगलबारदेखि साताव्यापी ‘मुहार चित्र कार्यशाला’ सञ्चालन गरिहेको छ ।

राजधानीको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बिहीबार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको पोट्रेट क्यानभासमा उतार्दै कलाकार । तस्बिर : बिजु महर्जन/कान्तिपुर

कार्यशालामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि अभिनेत्री मनीषा कोइराला, कलाकार तथा साहित्यकार भद्रकुमारी घले, माइती नेपालकी संस्थापक तथा समाजसेवी अनुराधा कोइराला, पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत व्यक्तित्वको मुहार चित्र कोर्ने काम जारी छ । बिहीबार प्रतिष्ठान परिसरमा मुहार चित्रका लागि अतिथिका रुपमा सहभागी कलाकार हरिवंश आचार्यसँग चित्रकला विधाबारे कान्तिपुरकर्मी सुशीला तामाङले गरेको कुराकानी :

मुहार चित्र पहिलोपल्ट कोर्न लगाउँदै हुनुहुन्छ । कस्तो अनुभूति गरिरहनुभएको छ ?

यसभन्दा अघि अन्य कलाकारले माटाको मूर्ति चाहिँ बनाउनुभएको छ । विप्लव प्रजापति भाइले बनाएको मूर्ति रेडियो अडियोको स्टुडियोमा राख्नुभएको छ । ललितपुरका एक जना कलाकारले पनि बनाउनुभएको छ तर पोट्रेट (मुहार) चित्र पहिलोचोटि नै हो । उहाँ (डिराम पाल्पाली) ले कुरा गर्दै कोरिरहनुभएको छ । एकै ठाउँमा एक डेढ घण्टा बस्दा पनि मोनोटोनस भएको छैन ।

तपाईंको लाइभ पोट्रेट नेपालको स्थापित चित्रकार डिराम पाल्पालीले कोरिरहनुभएको छ । यसभन्दा अघि उहाँको कलाकारिताबारे अवगत हुनुहुन्थ्यो ?

उहाँलाई मैले अस्ति भर्खर यहीँ आएर चिनेँ । उहाँको आर्ट चाहिँ चाइनाको म्युजियममा पनि छ रे । अन्तर्राष्ट्रियस्तरका ग्यालरीहरूमा उहाँलाई चिनिँदोरहेछ । उहाँले मेरो पोट्रेट बनाउँदै हुनुहुन्छ । यो एकदम खुसीको कुरा हो ।

वर्षौं साधना गर्दा पनि कलाका अन्य विधाभन्दा चित्रकलाका कलाकार गुमनामजस्तै हुन्छन् । यसमा तपाईंको धारणा के छ ?

कला भनेपछि सबै एउटै, हामी सबै एकै विधामा पर्छौं जस्तो लाग्छ मलाई । हामी चाहिँ चल्ने चलचित्र बनाउँछौं । यो चाहिँ नचल्ने चलचित्र हो । नेपाली चलचित्रमा दर्शकले भाषा बुझ्न सक्छन् र त्यसबाट मनोरञ्जन लिन सक्छन् तर चित्रकला भनेको यस्तो विधा हो, जसको निश्चित भाषा हुँदैन । यसमा संसारले बुझ्ने भाषा हुन्छ । यसको प्रवर्द्धन राम्रोसँग गर्ने हो भने मार्केट ठूलो छ ।

भारतमा बसेर चित्रकलामा एकदमै राम्रो गरिरहनुभएका चित्रकार लक्ष्मण श्रेष्ठ हुनुहुन्छ । कला विधामा उहाँको त्यहाँ ठूलो नाम छ । उहाँको आर्ट किन्नलाई मान्छेले वर्षौं पर्खिन्छन् । भारतको संसद् भवनदेखि अमिताभ बच्चनसम्मका घरमा उहाँको आर्ट छ । उहाँको एउटा आर्ट करोड रुपैयाँमा बिक्री हुन्छ । एउटा नेपालीले यसरी गर्न सक्नुभो भने अरू नेपालीले पनि गर्न सक्नुहुन्छ । कला र कलाकारको संरक्षणका लागि राष्ट्रले पनि यसलाई सम्मान गरिदिनुपर्छ जस्तो लाग्छ ।

चित्रकला विधालाई कसरी हेर्नुभएको छ ?

चित्रकला कलाको सबैभन्दा जेठो विधा हो । क्यामराको आविष्कार हुनु अघिदेखि नै मान्छेको पोट्रेट बनाउने प्रचलन थियो । मानिसहरू आफ्नो पोट्रेट बनाएर बैठकमा राख्ने गर्थे । यसको आज पनि उत्तिकै महत्त्व छ ।

यसप्रकारका कला जनस्तरदेखि राष्ट्रस्तरमा जानुपर्छ । सरकारी तथा निजी कार्यालयहरूले कलालाई स्वीकार गर्नुपर्छ । यसले कलाकारहरूलाई हौसला बढ्छ र यसप्रति मानिसको आकर्षण बढ्न सक्छ । वरिष्ठ चित्रकारहरूलाई कोर्सबुकमा राखेर राज्यले चिनाउनुपर्छ । चित्रकला प्रवर्द्धन गर्ने सरकारको मन हुनुपर्‍यो ।

कलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन कलाकार स्वयंको भूमिका कस्तो हुनुपर्छ ?

नेपालमा मात्र नभएर हामीले अन्तर्राष्ट्रिय मार्केटको खोजी गर्नु जरुरी छ । हामीले हाम्रो मात्र मार्केट खोजेर नै चित्र मात्र नभएर चलचित्रहरूले पनि अन्तर्राष्ट्रिय मार्केट लिन सकिरहेका छैनन् ।

हाम्रो चलचित्र पछाडि पर्नुको कारण हामीले नेपालमा मात्र बेस बनाएर काम गरिरहेका छौं । हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय भाषामा कमान्ड गर्न सकेनौं तर नयाँ जेनेरेसनले कलाका विविध विधालाई अन्तर्राष्ट्रिय मार्केटमा लैजान सक्छन् । चलचित्र क्षेत्रबाट चित्रकला विधालाई सघाउ पुर्‍याउन कुनै एउटा पेन्टरको कथा लिएर चलचित्र बनाउन सकिन्छ ।

कलालाई विस्तार गर्न राज्यको दायित्व कस्तो रहनुपर्छ ?

हाम्रो संसद् भवन, सरकारी अफिसमा देशका प्रख्यात चित्रकारको कला किनेर ठाउँ–ठाउँमा राखिदिने हो भने कला सजावटको एउटा कल्चर नै डेभलप हुन्छ ।

सरकारले मात्र नभएर प्राइभेट अफिसहरूले पनि पोट्रेट, ल्यान्डस्केप विधाका हिमाल, पहाड र तराई झल्कने कला किनेर कला क्षेत्रमा केही योगदान पुर्‍याउनुपर्छ । यसले कार्यालयको शोभा बढाउँछ र चित्र किन्ने बानी पनि पर्छ । ललितकला प्रतिष्ठानबाट देशविदेशमा नेपाली कला, संस्कृतिको प्रदर्शनीको पहल गर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ ११:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×