१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनुका साथै प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने सहिदप्रति प्रार्थना र स्मरण गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्‍त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुनसहित संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय, कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति थियो । राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले फागुन ७ गते औपचारिक समारोहसाथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत कार्यक्रम आयोजना गरिएका छन् । माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो ।


प्रकाशित : फाल्गुन ७, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्