यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । काठमाडौंको जोहर्सिहपौवास्थित स्कुलबाट घर फर्कदै छात्रा र पृष्ठभूमिमा लाङटाङ हिमाल । तस्बिरः दीपेन्द्र रोक्का
बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा शनिबार पनि काठमाडाैंमा प्रदर्शन गरिएको छ । पद्मकन्या क्याम्पसका विद्यार्थी बागबजारदेखि माइतीघरसम्म विरोध जुलुसमा सहभागी थिए । जुलुसमा उनीहरुले कालो पोसाक, निधारमा कालो पट्टीका साथै मुखमा पनि कालो टेप टाँसेका थिए । यसका साथै उनीहरु अनुहारमा रंग समेत पोतेर प्रस्तुत भएका थिए । उनीहरुले 'महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?', 'एम आई द नेक्स्ट ?', 'कहिलेसम्म योनीमा मृत्यु बाेकेर हिँड्ने ?' लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।
स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडाैंमा प्रदर्शन गरेका छन् । स्रष्टा तथा कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन् । 'सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन' को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्याली निकालेका थिए ।
न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् ।बिहीबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गरेका छन् । भूकम्पका कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ ।
नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।
पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका बर्तालुले बिहीबार बिहान पशुपतिस्थित आर्यातीर्थमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन् । प्रत्येक वर्ष माघ कृष्ण औंसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा माधवनारायण बर्तालुले स्नान गर्ने व्रत विधि रहेको छ । माधवनारायण बर्तालु तीर्थयात्राका लागि माघकृष्ण चतुर्दशी अर्थात् बुधबार बेलुकी पशुपति क्षेत्र आएका थिए । माधवनारायण बर्तालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर बर्तालु सुत्छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल-नेपाल) समूहले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल-नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।
बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न भन्दै विद्यार्थीहरुले दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले १२ कक्षामा अध्ययनरत भट्टलाई सम्झँदै कीर्तिपुरको नयाँ बजार र घडी भवन, स्ववियू कार्यालय अगाडि दिप प्रज्वलन गरेका हुन् ।