यस्तो देखियो दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरु]


काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल-नेपाल) समूहले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल-नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।


पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व विभिन्न नेताहरूले गरेका थिए । सबैतिरका जुलुस भृकुटीपण्डप पुगी कोणसभामा परिणत भएको थियो । सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गरेका छन् । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङ, स्वागत जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गरेका थिए ।


दाहालले फागुन पहिलो साताबाट अझ ठूलो आन्दोलन हुने बताउँदै आएका छन् । दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दल र नागरिक समाजले पनि सरकारको उक्त कदमको विरोध गर्दै आएका छन् ।





