कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍व कीर्तिमानी आरोही टोलीलाई पोखरामा नागरिक अभिनन्दन [तस्बिरहरू]

तस्बिर : दीपक परियार

पोखरा — हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे ।

आरोहीको टोलीलाई पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गरेर बजार परिक्रमा गराइएको छ । विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइड परिक्रमा गराइएको थियो । टोलीलाई ठाउँ–ठाउँमा पुष्पगुच्छाले स्वागत गरेका थिए ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण भएको बताए । ‘विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुसीको कुरा हो,’ उनले भने । अभिनन्दन कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले निकै चुनौतीपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए ।

आरोही दलका संयोजक निर्मल पुर्जा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको भएकाले पनि यो प्रदेशको लागि गौरव भएको उनले बताए । कार्यक्रमको सहसंयोजक नेपाल पर्वातारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा पर्वतारोहण पर्यटनलाई प्रवर्द्धन गरेर विदेशी तथा नेपाली पर्यटकलाई पर्वतारोहणमा आकर्षण गर्न केटु हिमाल आरोहणले सकारात्मक सन्देश दिएको बताए । यसले साहसिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास उनको छ ।

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । उक्त हिमालमा यसअघि हिउँदको समयमा कोही आरोही पुग्न सकेको थिएनन् ।

निर्मल पुर्जा संयोजक रहेको आरोहरण दलमा नेपाली मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा थिए । सेभेन समिट आरोहणबाट सोना शेर्पाले सफल आरोहरण गर्न सफल भएका थिए । उक्त हिमालमा सन् १९८७/८८ को हिउँदमा पहिलो प्रयास गरिएपनि सफल आरोहण भने निर्मल पुर्जा नेतृत्वको टोलीले गरेको हो ।


प्रकाशित : माघ २६, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्