कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पानी घटाइएपछिको फेवाताल [तस्बिरहरु]

लालप्रसाद शर्मा

पोखरा — बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएपछि किनार हिलाम्मे भएको छ । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एकसय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।

६४ दशमलव ५ मिटर र उचाइ बढीमा २० मिटर रहेको बाँधमा ४ फलामे ढोका छन् । ती ढोकाका रवरसिल सबै बिग्रेकाले पानी चुहिदै आएको थियो । ‘यो बाँधका लागि खतराको सूचक थियो,’ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले भने, ‘बाँध भए पनि ताल बन्द थिएन । अब ढोकामा रबरसिल फेरिएपछि पानी चुहिने समस्या हट्छ ।’ यसैगरी बाँधबाट पठाइने पानीको गति रोक्न बनाइएका लन्चिङ एप्रोन र अन्डरमाइन्डिङ (बाँध जोगाउन तल्लो तटमा बनाइएका संरचना) बगेका र जीर्ण भएपछि बाँध थप जोखिममा थियो । संरचना बगेपछि बाँधमुनिबाट पानी रसाउन थालेको थियो । त्यस्ता संरचना पनि बनाउन लागिएको हो ।

तालको पानीबाट ३ सय २० हेक्टर जमिनमा सिंचाइ हुँदै आएको थियो । तालको पानी लगेर १ मेगावाटको फेवा जलविद्युत आयोजना पनि सञ्चालनमा छ । अहिले तालको सतह एक मिटर घटाइएको छ । काम गर्ने दौरान आवश्यक परेमा अर्को एक मिटर पनि घटाउन सकिने आचार्य बताउँछन् । एक महिनामा मर्मतको काम सकिनेछ । बाँध मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


प्रकाशित : माघ २५, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्